धनुषा — मनरा शिसवा नगरपालिका–१ चौरीयाका ७० वर्षीय खेहरु साह ३/४ महिनायता पिसाबमा समस्या देखिएर ग्रस्त थिए । अस्पताल लिएर जाने कोही नहुँदा खेहरु उपचारबाट बञ्चित थिए । तर बुधबार मनरा शिसवा नगर अस्पतालकी स्वास्थ्यकर्मी अनमी पुजाकुमारी मण्डल सडक छेउको पसलमा बसिरहका खेहरुको स्वास्थ्य जाँच्न घरै पुगिन् । र, पर्याप्त पानी खान सुझाव दिइन्।
समस्या ठिक नभए थप परीक्षणका लागि बस्तीमै रहेको अस्पताल आउन खेहरुलाई पुजाले आग्रह गरिन् । खेहरु साहलाई पानी खाने सुझाव दिएपछि पुजा चौरीयाकी २५ वर्षीया आरती यादवको घर पुगिन् ।
दुई साताअघि नगर अस्पतालमा छोरी पाएकी आरतीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर पुजा गाउँँतर्फ लागिन् । घरघर गएर स्वास्थ्य जाँच्न र बिरामीसँग भेट्न पुजालाई अहेब रामकिशोर महतोले सघाउँछन् । दुबै जना महिनामा १० दिन घरघर गएर बिरामी भेट्ने कार्यसुची बनाएका छन् । गाउँमा घरघर गएर स्वास्थ्य परीक्षण गर्दा गर्भवती भएर पनि अस्पताल नजानेहरुको पहिचान गर्नुको साथै दीर्घ रोगिहरुलाई घरैमै नियमित स्वास्थ्य जाँच गर्दा सर्वसाधारण खुसी भएको अहेब महतोले बताए ।
बुधबार मात्रै विपन्न परिवारकी १३ जना गर्भवती महिलालाई घरमै गएर नियमित स्वास्थ्य परीक्षण गरी सुझाव दिएको महतोले बताए । घरमै पुगेर स्वास्थ्यकर्मीले आवश्यकता अनुसार स्वास्थ्य परामर्श दिने, खानपान र सरसफाइको बारेमा सुझाव दिँदै आवश्यकताका अधारमा औषधि उपलब्ध गराइ स्वास्थ्य चेक जाँच गरिँदै आएको महतोले बताए ।
मनरा शिसवा नगरपालिका भित्रका सबै वडाहरुमा ज्येष्ठ नागरिक, अशक्तहरु, गर्भवती सुत्केरी महिला, गरिब विपन्न परिवारहरुको घर घरमा स्वास्थ्यकर्मी पठाएर सेवा प्रदान गर्न थालेको हो । गरिबी र अशिक्षाका कारण स्वास्थ्य कार्यलयसम्म पहुँच नभएकाहरुका लागि घरमै स्वास्थ्यकर्मी पठाएर घरमै उपचार सेवा दिँदा स्थानीय सरकारको अनुभूति भएको मनरा शिसवा-१ का स्थानीय रामराजा रायले बताए ।
अशक्त र ज्येष्ठ नागरिकहरुलाई पनि स्थानीय सरकार छ भन्ने अनुभूति गर्ने गरी नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर गाउँ-गाउँमा स्वास्थ्यकर्मीहरुको टोली परिचालन गर्न थालेको हो। स्थानीय सरकार नै ज्येष्ठ तथा अशक्त नागरिकहरुको लागि सारथि बन्नुपर्छ भन्ने हेतुले ज्येष्ठ नागरिकहरुलाई केन्द्रमा राखेर घरमै स्वास्थ्य सेवा दिन थालेको नगर प्रमुख मोहन पाण्डेले बताए ।
गरिबीको रेखामुनि रहेकाहरु रोग लागिसक्दा पनि थाहा नपाएर स्वास्थ्य चौकी र अस्पताल समयमा नपुग्दा रोगले ग्रस्त भइ ज्यान गुमाउने गरेको, कतिपय अशक्त तथा ज्येष्ठ नागरिकहरुलाई अस्पतालसम्म पुर्याउन कोही नभएकाले घरघरमै गएर उपचार तथा स्वास्थ्य जाँच गर्न लागेको नगर प्रमुख पाण्डेको भनाइ छ । स्वास्थ्य कार्यक्रम अन्तर्गत प्रत्येक महिनाको १० दिन पालिकाभित्र रहेका स्वास्थ्यकर्मीको टोली घर घरमा पुगेर सुगर, प्रेसर, ज्वरो, रुघाखोकीे जाँच गर्नुका साथै दीर्घरोगीको अन्य स्वास्थ्य अवस्थाको बारेमा समेत जानकारी लिने गरेका छन् ।
प्रकाशित : श्रावण २५, २०८१ १२:२९