कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

हात्तीको दारा तस्करीमा संलग्न तीन जना कारागार चलान 

श्रावण २३, २०८१
हात्तीको दारा तस्करीमा संलग्न तीन जना कारागार चलान 

पर्सा — जंगली हात्तीको दारा अवैधरुपमा किनबेच गर्ने तीन जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षको लागि कारागार चलान गरेको छ ।

पर्सा राष्ट्रिय निकुन्ज आधाभार कार्यालयले बुधबार विज्ञप्ति मार्फत मंगलबार पर्सा जिल्ला अदालतले उक्त आदेश दिएको जनाएको छ ।

अदालतले ठोरी गाउँपालिका-४ का ४१ वर्षीय कुइसन लामा, वीरगञ्ज महानगरपालिका-१४ का ४० वर्षीय सुकदेव शर्मा र वीरगञ्ज महानगरपालिका-२९ का ३४ वर्षीय अमिरीलाल महत्तोलाई पुर्पक्षका लागि कारागार चलान गरेको निकुन्ज कार्यालयका सूचना अधिकृत सन्तोष कुमार भगतले जानकारी दिए ।

उनीहरुलाई गएको असार ७ गते ठोरी गाउँपालिका-४ बाट हात्तीका दुई वटा दारासहित पक्राउ गरिएको थियो । तीनै जना उपर राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ५ को उपदफा १ को देहाय (क) अनुसारको कसुर अपराधमा सोही ऐनको दफा २६(१) बमोजिम सजायको माग दाबी गरी पर्सा जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

प्रहरीले ठोरी–४ स्थित चन्द्र परियारको खेतमा खाल्डो खनी करीब २१/२१ किलो तौलको दुई वटा हात्तीको दारा बरामद गरेको थियो । साथै यसै कसुरमा संलग्न पहिचान भएका फरार प्रतिवादीको हकमा कानून बमोजिम हुने एवम् अन्य थप व्यक्ति कसैको संलग्नता देखिए कानून बमोजिम पुरक अभियोगपत्र समेत दायर गरिने भगतले जानकारी दिए ।

प्रकाशित : श्रावण २३, २०८१ १६:४१
x
×