पर्सा — पर्सा राष्ट्रिय निकुन्जमा शंकास्पद अवस्थामा दुई पुरुषको शव फेला परेको छ । निकुन्जको रामभौरीभाठा मन्दिरभन्दा करिब २० किमि उत्तर–पश्चिम शीतलपुर क्षेत्रमा मंगलबार साँझ ती शव फेला परेका हुन् ।
मृत्यु हुनेमा मकवानपुर राक्सिराङ गाउँपालिका–२ का ३२ वर्षीय राजकुमार नेगी र मकवानपुर मनहरि गाउँपालिका–५ का दिल्लीपुरका ४० वर्षीय रामबहादुर मोक्तान रहेको निकुन्जका संरक्षण एवं सूचना अधिकारी सन्तोषकुमार भगतले बताए । दुवैको शव चुरे पहाडको फेंदमा फेला परेको हो । ‘शव फेला परेको स्थान निकुन्जको कोर एरिया हो, घना जंगलमा सेना, नेपाल प्रहरी, निकुन्जकर्मी तथा मृतकका आफन्तसहितको टोलीले सोमबारदेखि दुवैको खोजी सुरु गरेको थियो,’ उनले भने, ‘आफन्तले नै दुवै जना हराएको सूचना दिएपछि हामीले उनीहरुको खोजी कार्य सुरु गरेका थियौं ।’
शवको प्रकृति हेर्दा दुवैको मृत्यु तीन/चार दिनअघि नै भएजस्तो देखिन्छ । शरीरका विभिन्न भागमा चोटपटक देख्दा कुनै वन्यजन्तुको आक्रमणमा परी दुवैको ज्यान गएको अनुमान गरिए पनि घटनाबारे थप विवरण आउन बाँकी रहेको र त्यसपछि मात्रै मृत्युको कारण खुल्न सक्ने भगतले बताए । मृतकहरु घरबाट हिँडेर परिवारजनसँग सम्पर्कमा नआएपछि निकुन्जको वन क्षेत्रमा हराएको अनुमान परिवारजनले गरेका थिए ।
दुवै जना कुन प्रयोजनले निकुन्जमा गएका थिए भन्ने कुरा अझै खुल्न सकेको छैन । घटनास्थलभन्दा करिब २० किलोमिटरको दूरीमा रामभौरीभाठा मन्दिर रहेको र त्यहाँ हाल साउने मेला लागिरहेको छ । ‘शव परीक्षणको नतिजा नआउन्जेल तथा प्रहरीले अनुसन्धान नसकुन्जेलसम्म तत्कालै केही भन्न सक्ने अवस्था छैन,’ सूचना अधिकारी भगतले भने, ‘प्रहरीद्वारा अनुसन्धान र शव परीक्षणको काम भइरहेको छ ।’
प्रकाशित : श्रावण २२, २०८१ १९:४६