राजविराज — सप्तरीको राजगढ गाउँपालिकाका जनप्रतिनिधिहरु र स्थानीय बासिन्दा आन्दोलित भएका छन् । गत असार १० गते भएको १३ औ गाउँसभा स्थानीय सरकार संचालन ऐन २०७४ विपरीत भएकोले गाउँसभा बदर गर्नुपर्ने भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
मंगलबार नाराजुलुस गर्दै गाउँपालिका कार्यालय पुगेका आन्दोलनरत पक्षले पालिका अध्यक्ष ओमप्रकाश मण्डललाई ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा पालिकामा कहाँबाट कुन शीर्षकमा कति रकम प्राप्त भएको हो ? र सो रकम कहा खर्च गरिएको हो ? सो विवरण सार्वजनिक गर्न माग गरेका छन् ।
२ सय २५ जनाभन्दा बढी लाभाग्राहीले सामाजिक सुरक्षा भत्ता नपाएकोले यथाशीघ्र सामाजिक सुरक्षा भत्ता एकमुष्ट उपलब्ध गराउनुपर्ने, कर्मचारीहरुको विवरण उपलब्ध गराउनुपर्ने मागसमेत आन्दोलनरत पक्षको छ ।
पालिकाको आफ्नै स्कारपियो हुँदाहुँदै थप व्ययभार पर्ने गरी दुईवटा स्कार्पियो भाडामा लिनुपर्ने कारणसमेत माग्दै उनीहरुले आफूहरुको माग पूरा नभए पालिकामा तालाबन्दी गर्ने चेतावनी दिएका छन् ।
वडा नं ५ का वडाध्यक्ष देवेन्द्रप्रसाद साह, वडा नं १ का वडाध्यक्ष उपेन्द्रनारायण यादव र वडा नं २ का वडाध्यक्ष जितेन्द्रकुमार यादवसहित १६ जना जनप्रतिनिधिहरु र स्थानीयहरु मंगलबार नाराबाजी गरे पालिका कार्यालय पुगेर अध्यक्ष ओमप्रकाश मण्डललाई ज्ञापनपत्र बुझाएका थिए ।
प्रकाशित : श्रावण २२, २०८१ १७:५९