पर्सा — देशको प्रमुख भन्सार नाका वीरगन्ज भन्सार नाकाबाट भारत तथा तेश्रो मुलुकतर्फको व्यापार घाटामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा व्यापार घाटा करिब १२ प्रतिशतले कम भएको हो ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत रघुलाल कर्णका अनुसार गत आवमा यो नाका हुँदै ६ खर्ब ९ अर्ब २८ करोड ११ लाख १४ हजार रुपैयाँ बराबरको मालवस्तु आयात र ३१ अर्ब ८५ करोड ७१ लाख २७ हजार रुपैयाँँ बराबरको मालवस्तु निर्यात भएका छन् । यसरी गत आवमा यो नाकाबाट व्यापार घाटा ५ खर्ब ७७ अर्ब ४२ करोड रुपैयाँ रहेको छ ।
तर अघिल्लो आवको तुलनामा यो नाकाबाट हुने. व्यापार घाटामा १२ दशमलव ७६ प्रतिशतले कमी आएको कर्ण बताउँछन् । अघिल्लो आवमा यो नाकाबाट ६ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको मालवस्तु आयात भएकोमा ३७ अर्ब रुपैयाँ बराबरको मालवस्तु निर्यात भएका थिए । यसरी अघिल्लो आवमा व्यापार घाटा ६ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको रहेको थियो ।
यो नाकाबाट आयात हुने मुख्य वस्तुहरुमा इन्धन, नया सवारी साधन, औद्योगिक कच्चा पदार्थ, विद्युतीय सामग्री आदि बढी हुने गरेका छन् । त्यसैगरी, प्रशोधित पाम र भटमासको तेल, फलामे पाता, जमोठ कपडा, जुस जाम, च्यवनप्राश र जुत्ता आदि निकासी हुने गर्छ ।
कर्णका अनुसार, भारत, चीन, अर्जेन्टिना, युक्रेन, ताइवान, सिंगापुर, इन्डोनेशिया आदि राष्ट्रसँग नेपालको आयात निर्यात व्यापार बढी हुने गरेको छ । ‘भारत एक्लैसँग करिब ७६ प्रतिशत र भारत तथा चीनसँग गरेर करिब ८६ प्रतिशत आयात निर्यात व्यापार यो नाकाबाट हुने गरेको छ,’ उनले भने, ‘बाँकी अन्य राष्ट्रसंग व्यापार हुने गरेको छ ।’
यस्तो अवस्थामा व्यापार घाटा बढने र घटने कारणमा भारतले आयात निर्यात व्यापारमा लिने नीतिको पनि प्रभाव हुने गरेको कर्ण बताउँछन् । यस बाहेक आर्थिक मन्दीको असर समग्र आयात निर्यात व्यापारमा पनि परेकाले यो नाकाबाट हुने व्यापार घाटा कम भएको हुन सक्ने उनले बताए । ‘आर्थिक मन्दीको असर आयात निर्यात व्यापारमा पनि प्रत्यक्ष रुपमा देखिएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा समग्रमै व्यापार घटेर व्यापार घाटामा पनि कमी आएको हो ।’
प्रकाशित : श्रावण २१, २०८१ १८:२३