महोत्तरी — सडक मानवको उद्धार र संरक्षण गर्ने उद्देश्यले महोत्तरीको बर्दिवास नगरपालिका-२ स्थित बुद्धचोकमा ‘हाम्रो मायाघर’ निर्माणार्थ महायज्ञ हुँदैछ । शिवपुराण महायज्ञअन्तर्गत सोमबार कलश स्थापना गरिएको छ । आयोजक समितिका अनुसार भागवत बाचिका राधिका दासीले मंगलबारबाट कथा वाचन सुरु गर्नेछिन् ।
साउन २९ गतेसम्म चल्ने शिवपुराणबाट संकलित सबै रकम हाम्रो मायाघर बर्दिवास निर्माणमा लगाइने महायज्ञ मुल आयोजक समितिका संयोजक हिरा गौतमले जानकारी दिए ।
सोमबार बर्दिवास मुख्य बजारक्षेत्रबाट ५ हजार बढी भक्तजनहरु कलश लिएर रातुनदी जल लिन पुगेका थिए । कलश स्थापनापछि सोमबारनै महायज्ञको औपचारिक उद्घाटन समेत मधेस प्रदेश सरकारका अर्न्थमन्त्री सुनिल कुमार यादवले गरेका छन् ।
बाध्यता र विवशतामा सडकमा जीवन बिताइरहेका मानवहरुको उद्धार र संरक्षण गर्ने उद्देश्यले मायाघर बन्न लागेको गौतमले बताए । व्यक्तिबाट दान दिएको र खरिद गरेको साँढे ५ कठ्ठा जग्गामा ४ तला र २ तलाको २ वटा भवन निर्माण गरिने मायाघर निर्माण समितिका अध्यक्ष कृष्णप्रसाद गौतमले बताए ।
भवन निर्माणका लागि योजना सहित नक्सा बनाईसकेकाले बजेट जुटाउन महायज्ञ आयोजना गरिएको मुल आयोजक समितिले जनाएको छ । ८ करोड २७ लाख ३९ हजार ९ सय ६६ मा ४ तले भवन र २ करोड ४२ लाख ५ हजार ५ सय ११ मा अर्को २ तलाको भवन निर्माण गरिने समितिका सचिव चेत बहादुर थापाले जानकारी दिए । थापाका अनुसार निर्माण हुने भवन सेमिनार हल सहितको अपाङ्गमैत्री र भुकम्प प्रतिरोधी हुनेछ ।
उक्त भवन बनाउने अभियान अर्न्तगतको महायज्ञमा सहयोगी दाताहरु ब्ढिरहेका आयोजक समितिले जनाएको छ । ५० हजार मानिसले महायज्ञको दर्शन र कथा श्रवण गर्ने अपेक्षा राखेको आयोजक समुहले करिब डेढ करोड दान र भेटी संकलन हुने अपेक्षा राखेको मुल आयोजक समितिका संयोजक गौतमले बताए ।
दान गर्ने दातालाई रकम अनुसारको सम्मान र शिलालेखमा नाम लेख्ने र आएको दान भेटि आर्थिक पारदर्शिताका लागि अललाइन रसिदको व्यवस्था गरिएको आर्थिक समितिका संयोजक शम्भुप्रसाद भट्टराईले जनाएका छन् ।
प्रकाशित : श्रावण २१, २०८१ १८:५०