सर्लाही — सर्लाहीको हरिवन नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउन सकेको छैन । नगरसभा उद्घाटन भएको एक महिना बितिसक्दा पनि आन्तरिक द्वन्द्वका कारण बुधबारसम्म बजेट ल्याउन नसकेको हो ।
हरिवनको बजेट तथा योजनामा वडाध्यक्ष र मेयरबीच विवाद देखिएको हो । वडाध्यक्षहरूले बजेटमा ६०/४० तथा समग्रमा बजेट राख्नुको साटो वडा–वडामा शीर्षक छुट्याएर बजेटको माग गरेका छन् । वडाध्यक्षहरूले मेयर रमेश बुढाथोकीले एकमुष्ट नगरबाट बजेट राख्न खोजेकाले विवाद भएको बताए ।
हरिवन–३ का वडाध्यक्ष दीपमान लोप्चनले मेयरले एकमुष्ट बजेट राख्न खोजेपछि विवाद भएको जानकारी दिए । ‘मेयरले शिक्षा, स्वास्थ्य, सडक, कृषि लगायतमा एकमुष्ट बजेट राख्न खोज्नुभयो, जसको हामीले विरोध गरेका छौं,’ उनले भने, ‘कुन वडाको कुन विद्यालयमा कति बजेट, कुन सडकमा कति बजेट राख्ने भन्ने स्पष्ट उल्लेख गर्नुपर्ने हाम्रो माग हो, यसमै विवाद भएको हो ।’
हरिवन–४ का वडाध्यक्ष केशव थापाले ६० प्रतिशत बजेट वडामा र ४० प्रतिशत बजेट पालिकामा राख्नुपर्ने वडाबाट आवाज उठेपछि मेयर बुढाथोकी हच्किएको बताए । उनका अनुसार जारी विवादका कारण कार्यपालिका बैठक नै अनिश्चित बनेकाे छ ।
आन्तरिक द्वन्द्वका कारण बजेट ल्याउन नसक्दा सामाजिक सुरक्षा भत्ता तथा कर्मचारीको तलब वितरणमा पनि समस्या भएको छ । मेयर बुढाथोकीले जारी विवाद मिलाएर बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए । ‘विवादकै कारण बजेट आउन नसकेको हो,’ उनले भने, ‘विवाद मिलाउने प्रयास भइरहेको छ, चाँडै नै बजेट आउनेमा विश्वस्त छु ।’
प्रकाशित : श्रावण १६, २०८१ १९:०९