महोत्तरी — महोत्तरीको बर्दिवास–६ स्थित रातुखोला किनारमा क्रसर उद्योगले बनाएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । अन्दाजी १३ वर्षका बालक रिदम विश्वकर्माको खाल्डोमा जम्मा भएको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।
शनिबार बिहान पौडी खेल्न भनी घरबाट निस्किएका बालक घर नफर्किएपछि खोजी गर्ने क्रममा स्थानीयले आइतबार दिउँसो १ बजे मृत अवस्थामा उनको शव फेला पारेका हुन् ।
उत्खननको मापदण्डविपरीत क्रसर उद्योगले २० फिटमाथिका सयौं खाल्डा बनाएको उक्त क्षेत्रमा वर्षाको पानी जमेसँगै बालबालिका पौडी खेल्न जाने गरेकाले यस्तो घटना भएको स्थानीय जेनिस कार्कीले बताए ।
बर्दिवास–६ का वडाध्यक्ष पदमबहादुर आलेका अनुसार मृत बालक गाउँकै स्कुलमा ७ कक्षामा पढ्दै थिए । बिदाको दिन पौडी खेल्न गएका बालकको खाल्डोमा डुबेर मृत्यु हुनु दुःखद भएको आलेले बताए ।
यसअघि पनि बर्दिवास–१४ का १६ वर्षीय रोशन मिश्रको क्रसरले बनाएको खाल्डोमै डुबेर ज्यान गएको थियो ।
प्रकाशित : श्रावण १३, २०८१ १६:१९