महोत्तरी — घरमा परिवारका सदस्य बिरामी भइरहने समस्याले अस्पताल पुर्याउने क्रममा आफैँले अस्पताल बनाएर सेवा दिने प्रण गरेका बर्दिवास नगरपालिका-२ का दिपक कार्की अहिले आफ्नै अस्पतालबाट दैनिक २ सय बढीलाई स्वास्थ्य सेवा दिन्छन् । निजी लगानीमा ५० करोड खर्चिएर कार्कीले संचालन गरेको शुभस्वस्तिक अस्पताल अहिले निजी अस्पतालमा मधेसकै नमुना अस्पताल बनेको छ ।
२०६३ सालमा एक सहकारी संस्थाबाट डेढ लाख रुपैयाँ ऋण लिएर औषधि पसलसहित स्वास्थ्य क्लिनिक सुरु गरेका कार्कीले अत्याधुनिक प्रविधिसँगै अहिले आफ्नै भवनमा सुविधा सम्पन्न अस्पताल चलाएका छन् ।
आफूँहरुले दिने सेवाबाट सन्तुष्ट भएकै कारण दैनिक अस्पतालमा सेवा लिनेको घुँईचो लाग्ने गरेको कार्कीले बताए । अस्पताल आफ्नो व्यवसाय भएपनि सेवाको भाव राखेर काम गरेकाले अस्पतालबाट एकपटक सेवा लिने मानिस अन्त नजाने कार्कीको दाबी छ ।
निजी क्लिनिक भनेपछि चर्को शुल्क हुन्छ भन्ने भ्रम चिर्दै अस्पतालले न्युन शुल्कमा उच्चतम सेवा दिदैँ आएको कार्कीले बताए । गरिब, विपन्न, वृद्धवृद्धा लगायत सहयोग गर्नुपर्ने जो कोहीलाई अस्पतालले गर्न सक्ने सहुलियतमा उपचार गर्ने गरेको कार्कीले बताए । बर्दिवास आसपासमा राजमार्गमा हुने दुर्घटना, जटिल समस्या र स्वास्थ्यमा समस्या रहेका जो कोहिका लागि सहज होस् भनी अस्पतालले चौबिसै घण्टा विशेषज्ञ सहितको सेवा दिइरहेको छ ।
आवश्यक जनशक्ति सहित अस्पतालले ३ वटा भेन्टिलेटर, सिटि स्क्यान, शल्यक्रिया, ल्याप्रोसकोपी शल्यक्रिया, इन्डोसकोपी, युरोलोजी, बालबालिका, महिला तथा प्रसुति, भेन्टिलेटर, हाडजोर्नी, दन्त, आँखाको उपचार लगायत यस भेगमा अन्य संस्थामा नभएका सबै खाले सेवा अस्पतालले दिएको छ ।
कार्कीका अनुसार अस्पतालमा हाल १३ जना विशेषज्ञ डाक्टर, २६ जना स्टाफ नर्स, २२ जना अन्य स्वास्थ्यकर्मी सहित १ सय २६ जनाको टिम खटिएको छ । आधुनिक प्रविधि र उच्चतम सुरक्षाका बीचमा अस्पतालमा सेवा दिइरहेको डाक्टर श्याम सुदर शाहीले बताए । सिटिस्क्यान, आईसीयु, इमन्जेन्सीको सेवा लिन धेरै टाढादेखि पनि बिरामी आउने गरेका उनले बताए ।
सिन्धुली सहित मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतट र भारतदेखि समेत सेवा लिन शुभस्वस्तिकमा आउने गरेका अस्पतालका कर्मचारी दिपेन्द्र ढकालले बताए । साउन १ गतेबाट सेवा लिन आउने बर्दिवास नगर भित्रका सेवाग्राहीलाई मंसिर महिनासम्म अटोरिक्सा, एम्बुलेन्स र अन्य सवारीको भाडाखर्च अस्पतालले बेहोर्ने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले दिन सक्ने सहुलियत दिन यस्तो प्रबन्ध मिलाएको ढकालले बताए ।
सुविधासम्पन्न अस्पताल बनेपछि स्वास्थय सेवा लिन पाइने आशामा स्थानीय खुशी भएका छन् । यस क्षेत्रमा नभएका जाँच र सेवा लिन काठमाडौं, बिराटनगर, वीरगञ्ज लगायत टाढा पुग्नुपर्ने बिरामीलाई अब टाढा जानुपर्ने बाध्यता हटेको सेवाग्राही विनिता परियारले बताइन् । पेटको समस्या लिएर आफू अस्पताल आएको भन्दै उनले अस्पतालले दिएको सेवाप्रति खुशी व्यक्ति गरिन् । अझ विपन्नलाई सहुलियत शुल्कमा सेवा दिए सबै गरिब र विपन्नले पनि बर्दिवासबाटै उपचार लिन पाउने उनको भनाई छ ।
प्रकाशित : श्रावण ११, २०८१ १५:१४