कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

महोत्तरीका धार्मिक र पुरातात्त्विक सम्पदाको संरक्षणमा चासो

श्रावण ९, २०८१

महोत्तरी — यहाँको धार्मिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणमा होटल तथा पर्यटन व्यवसायीले चासो देखाएका छन् । धार्मिक तथा पुरातात्त्विक सम्पदाको अवलोकन भ्रमण गराउँदै पर्यटनमा लगानी बढाउन सरोकारवालासमक्ष व्यवसायीले माग गरेका हुन् । 

जिल्लामा धार्मिक तथा पुरातात्त्विक सम्पदाका क्षेत्रमा टुटेश्वर धाम, पञ्चधुरा मन्दिर, मध्य पाषण युगको हतियार कारखाना, रौजा मजार, पडोर थान, लोपोन्मुख गिद्धको बसोवास रहेको राइमण्डल लगायत छन् ।

प्रशस्त स्टारस्तरका होटल सञ्चालनमा आएसँगै होटलको हब बन्दै गरेको बर्दिवाससँगै जिल्लाका अन्य भूभाग र पर्यटकीय गन्तव्यलाई संरक्षण र विकास गर्न अवलोकन भ्रमण आयोजना गरिएको होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हीरा गौतमले बताए ।

भ्रमणमा सहभागी मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँ, शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदादेवी थापा, बर्दिवास नगरपालिकाका नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीसहित मन्त्रालयका सचिव, सरोकारवाला निकायले पर्यटन विकासमा सबैले हातेमालो गरी अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

१९८५ मा जर्मन नागरिक गुडन कार्विन्सले बर्दिवास–३ स्थित पाटुमा मध्य पाषण युगको हतियार कारखाना रहेको पत्ता लगाएकी थिइन् ।

अहिले घना जंगल रहेको उक्त क्षेत्रमा अझै पनि मध्य पाषण युगमा प्रयोग हुने हतियारका अवशेष रहेको र थप अध्ययन अनुसन्धान र संरक्षण हुन जरुरी रहेको आवाज उठेसँगै उक्त क्षेत्रको पुरातात्त्विक महत्त्वलाई संरक्षण गर्दै पर्यटकीय गन्तव्य बनाउन प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्रीलाई अनुरोध गरिएको व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले बताए ।

कार्कीका अनुसार साउनमा नेपाल, भारतका विभिन्न ठाउँबाट श्रद्धालुको घुइँचो लाग्ने नेपालको बाबाधाम भनेर चिनिएको टुटेश्वरको अनुगमन र विकास, सयौं वर्षको इतिहास बोकेको मुस्लिमहरुको आस्थाको केन्द्र रौजा मजार, सन्तान प्राप्तिका लागि मनोकामना सिद्धि हुने धार्मिक स्थलको रुपमा चिनिएको पडोर थान, हरेक मनोकामना सिद्धि हुने शक्तिपीठका रुपमा परिचित पन्चधुरा मन्दिर र लोपोन्मुख गिद्ध बास र राई जातिको इतिहास रहेको राइमण्डललाई संरक्षण विकासका काममा तत्परता देखाउन व्यवसायीले अनुरोध गरेका छन् ।

प्रकाशित : श्रावण ९, २०८१ १२:०१
x
×