कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९१

वडाध्यक्षले खनेको खाल्डोमा डुबेर बालिकाको मृत्यु 

श्रावण ८, २०८१
वडाध्यक्षले खनेको खाल्डोमा डुबेर बालिकाको मृत्यु 

सर्लाही — सर्लाहीको लखन्देही खोलामा वडाध्यक्षले खनेको खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मंगलबार अपराह्न उनको मृत्यु भएको हो । मृतक परिवारलाई उचित क्षतिपूर्ति र राहत दिने सहमतिपछि बालिकाको शव उठाइएको छ ।

खोलामा खनिएको गहिरो खाल्डोमा डुबेर कविलासी नगरपालिका–१ पिपरियाका सदिम शेखकी १३ वर्षीया छोरी सेहानी खातुनको मृत्यु भएको हो । घरबाट एक किलोमिटर पश्चिम रहेको खोलाबाट बालुवा ल्याउने क्रममा बालिकाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । उनीसँगै घरका अन्य दुई बालिका रसिदा र खुस्बु पनि डुबेकामा स्थानीयले उद्घार गरेको स्थानीय शेष सहदुल्लाहले बताए ।

कविलासी नगरपालिका–५ का वडाध्यक्ष गिरीधारी रायले चार दिनअघि खोलामा खाल्डो बनाएर सिंचाइका लागि कुलो बनाइ पानी लगेका थिए । वडाध्यक्ष रायले लखन्देहीको तटबन्धसमेत भत्काएका छन् । वर्षामा बाढी आउने खतराको बेवास्ता गर्दै वडाध्यक्ष रायले तटबन्ध भत्काउँदा त्यस क्षेत्रमा जोखिमसमेत देखिएको छ । यता पिपरियाबाट बरहथवा जाने सडकमा पर्ने खोलाको बाटोमा मान्छे डुब्ने गरी खाल्डो खनेर पानी जमाएका छन् । जसका कारण यो चल्तीको बाटो अवरुद्घ भएको छ ।

वर्षाको समय अर्थात् असार, साउन र भदौ तीन महिना खोलामा स्काभेटरको प्रयोगमा रोक लगाइए पनि वडाध्यक्ष रायले त्यसको बेवास्ता गर्दा घटना भएको स्थानीयको भनाइ छ । घटनाका बेला स्काभेटर नदीमै रहेको र पछि पर लगेको स्थानीयले जनाएका छन् । कविलासी–१ का वडाध्यक्ष दीपलाल रायले आफूसँग कुनै सल्लाह नै नगरी वडा ५ का वडाध्यक्ष रायले खोलामा गहिरो खाल्डो खनेको जानकारी दिए । पीडित परिवारले स्काभेटर नियन्त्रणमा लिनुपर्ने, दोषीलाई कारबाही र आवश्यक क्षतिपूर्तिको व्यवस्थाको माग गरेका छन् ।

यता कविलासी–५ का वडाध्यक्ष रायले सिंचाइका लागि पानी लगेको जनाउँदै स्थानीय नै सचेत बन्नुपर्ने तर्क गरे । वर्षाका बेला बालबालिका खोलामा जानु गलत रहेको उनले बताए । ‘मैले किसानका लागि कुलो खनेको हो, त्यसका लागि पानी नजमाई खेतमा पानी आउँदैन,’ उनले भने, ‘वर्षाका बेला स्थानीयले नै सचेतना अपनाउनु पर्छ ।’ नगरपालिकाले खोलाबाट कुलो खन्नका लागि ५० हजार बजेटको व्यवस्था गरेर कुलो खनेको उनले बताए ।

प्रकाशित : श्रावण ८, २०८१ १९:३५
x
×