कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

पोल भाँचिएर गाडीमाथि खस्यो, विद्युत् अवरुद्ध 

श्रावण ६, २०८१
पोल भाँचिएर गाडीमाथि खस्यो, विद्युत् अवरुद्ध 

महोत्तरी — महोत्तरीको बर्दिवास १ स्थित गाल्टार टोलमा सडक बिचको पोल भाँचिएर गुडिरहेको गाडीमाथि खसेको छ । 

ना ४ च १५४१ नम्बरको सामान बोक्ने पिकअप सडकमा गुडिरहेको बेला अचानक पोल भाँचिएर खसेको स्थानीयले बताए । गाडीमाथि पोल बजारिएको देखिएपछि विद्युत्‌ प्राधिकरणको स्थानीय कार्यालयलाई खबर गरिएको थियो ।प्राधिकरणले लगत्तै विद्‍युत् लाइन काटेकाले थप दुर्घटना हुनबाट बचेको स्थानीय अनितामाया बलम्पाकीले बताइन् ।

बर्दिवास नगरपालिकाको बजेटबाट २ वर्षअघि ढलान भएको सडकको बिचमा पोल हुँदा सबै जिम्मेवार निकाय मौन बस्दा दुर्घटना भएको स्थानीय बताउँछन् । तत्काल पोल सार्न नसकिने भन्दै नगरले पोललाई बिचमै राखेर सडक ढलान गरिदिएको राजकुमार थापाले बताए । वडा कार्यालय, सडक विभाग, नगरपालिका र विद्युत्‌को लापरबाहीले उक्त घटना भएको थापाले बताए । सडक बनेको २ वर्षसम्म पनि पोल नसार्नु सम्बन्धित निकायको गैरजिम्मेवार भएको उनले बताए ।

बर्दिवास दिपक टेण्ट हाउसको पिकअपमा टेन्टको सामान बोकेर हिँडेको गाडीमा भएका चालक कृष्णबहादुर बोगटी भने सकुशल छन् । ११ हजार भोल्टको करेन्ट भुइँमा खस्दा गाडीमा सामान्य क्षति भए पनि मानवीय क्षती भने नभएको टेन्ट हाउसका प्रमुख उमेश महतोले बताए।

विद्युत् प्राधिकरण गौशला वितरण शाखाले भने पोल सडकको बीचमा हुनु र दुर्घटना हुनुमा विद्युत् कार्यालयको लापरबाही नभएको जनाएको छ । सडक ढलान गर्ने समय वडा, पालिका, सडक विभागले आवश्यक समन्वय नगरेका कारण यस्ता दुर्घटना विभिन्न ठाउँमा हुँदै आएको गौशला वितरण केन्द्रका प्रमुख जगन्नाथ झाले बताए । अस्थायी पोल राखेर विद्युत् संचालन गर्ने तयारी भइरहेको उनले बताए ।

पोल ढलेसंगै बर्दिवास १,४,५ लगायतका वडामा ५/६ घण्टादेखि विद्युत् अवरुद्ध भएको छ ।

प्रकाशित : श्रावण ६, २०८१ २२:०१
x
×