कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

एक हप्ताअघि ढलेको बिजुलीको पोल ठडिएन, उपभोक्ता मारमा 

श्रावण ३, २०८१
एक हप्ताअघि ढलेको बिजुलीको पोल ठडिएन, उपभोक्ता मारमा 

सर्लाही — सर्लाहीको फरहदवामा एक हप्ताअघि ढलेको ११ केभिए प्रशारण लाइनको पोल अहिलेसम्म ठड्याउन सकिएको छैन । विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रले पोल उठाउन ढिलासुस्ती गरेकै कारण यहाँका हजारौं घर परिवारको दैनिकी अन्धकारमय बनेको छ ।

मलंगवा वितरण केन्द्रबाट विद्युत् सुचारु गरेपनि भोल्टेज समस्याले स्थानीय दिक्दार भएका छन् । उकुसमुकुस गर्मीका बेला विद्युत् नहुँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।

एक साता अघिको वर्षामा लालबन्दी वितरण केन्द्रको हरिपुर फिडरमा पर्ने हरिपुर नगरपालिका–४ फरहदवास्थित स्वास्थ्य चौकी अगाडिको ११ केभिएको पोल ढलेको थियो । ढलेको पोल ठड्याएर विद्युत सुचारु गर्नुपर्ने स्थानमा लालबन्दी वितरण केन्द्रले त्यस क्षेत्रमा मलंगवाबाट वितरणको ब्यवस्था मिलाएको छ ।

तर भोल्टेजको समस्या पहिलादेखि नै खेपिरहेको मलंगवाले थप भोल्टेजको समस्या परेको छ । जसले छिन-छिनमा विद्युत कटौती हुने, लोड थाम्न नसकेर घण्टौं बिद्युत अवरुद्ध हुने समस्या भइरहेको छ । मलंगवा वितरण केन्द्रका प्रमुख रंजय महतोले गर्मीका बेला लोड बढेर भोल्टेजमा कमी आएको बेला लालबन्दी वितरण केन्द्र अन्तर्गत पोल ढलेको क्षेत्रमा सप्लाई पुर्‍याउँदा भोल्टेजको समस्या थपिएको बताए ।

गर्मीले उकुसमुकुस भइरहेका बेला कम भोल्टेज र घण्टौँको अवरुद्धले उपभोक्ता मारमा परेका छन् । कम भोल्ट र छिन छिनको विद्युत कटौतीले विद्युत सामग्री बिग्रेर हैरानी खेप्नु परेको फरहदवाका स्थानीय अब्बास अंसारीले बताए ।

लालबन्दी वितरण केन्द्रका प्रमुख त्रिभुवन यादवले पोल ठड्याउनका लागि माटो खन्ने क्रममा पानी आएपछि गाड्न नसकिएको बताए । उनले भुँईमा ढलान गरेर फलामको पोल हाल्ने काम अघि बढेको बताए। ‘पोल गाड्नकालागि माटो खन्दा पानी आएको थियो, अब सुख्खा भयो होला,’ उनले भने, ‘भुँईमा ढलान गरेर फलामको पोल हाल्ने योजना छ, यसका लागि अझै एक हप्ता समय लाग्छ ।’

प्रकाशित : श्रावण ३, २०८१ १६:००
x
×