कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

बर्दिवासका मेयर क्षेत्रीद्वारा तलबभत्ता वापत्‌को रकम रक्तसञ्चारलाई सहयोग

असार ३१, २०८१
बर्दिवासका मेयर क्षेत्रीद्वारा तलबभत्ता वापत्‌को रकम रक्तसञ्चारलाई सहयोग

महोत्तरी — निर्वाचन जितेलगत्तै नगरबाट कुनैपनि सेवा सुविधा नलिने घोषणा गरेका बर्दिवास नगपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीले आफ्नो तलब भत्ता रेडक्रसको रक्तसंचारलाई प्रदान गरेका छन् ।

आफ्नो कार्यकालमा नगरबाट खातामा जम्मा भएको ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ क्षेत्रीले रक्तसंचार केन्द्र बर्दिवासलाइ उपलब्ध गराएका हुन् । क्षेत्री दम्पतीले आफ्नो २५ औं वैवाहिक उत्सवको सन्दर्भमा रेडक्रस उपशाखा बर्दिवासका सभापति रेवन्त कार्कीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका नगरपालिकाका प्रवक्ता बिजयकुमार महतोले जानकारी दिए ।

महतोका अनुसार बिरामी र दुर्घटनामा परेका ब्यक्तिलाई समयमै रगत उपलब्ध गराउन र रक्तदान कार्यक्रममा संकलन गरिएको रगत सवारी अभावले बिग्रने गरेको भन्दै रेडक्रसले रक्तसंचारका लागि सवारी खरिद गर्न नगरसँग सहयोग माग गरेको थियो ।

दान गरिएको रगत खेर जान नदिन र रगत अभावमै कसैलेपनि अकालमै ज्यान गुमाउनपर्ने दु:खद अवस्थाको अन्त्य गर्न आफूले उक्त रकम रक्तसंचारलाई दिएको मेयर क्षेत्रीले बताए । नगरको सेवा सुविधा नलिने आफूले घोषणा गरेको बोलीमा प्रतिबद्ध रहेको भन्दै क्षेत्रीले खातामा रहेको अन्य रकम र जम्मा हुने अन्य तलब भत्ता पनि नगरभित्रै अन्य सामाजिक कार्यमा सहयोग गर्ने बताए ।

मेयर क्षेत्री र श्रीमती मन्जुले चेक हस्तान्तरण गर्दै आफ्नो बैवाहिक खुशीसंगै अन्य खुशीका क्षणमा समेत सामाजिक कार्यमा निरन्तर सहयोग गर्ने बताएका छ्न् । नगरको सेवा सुविधा नलिने घोषणा गरेका क्षेत्री आफ्नै निजी सवारी प्रयोग गर्छन् ।

प्रकाशित : असार ३१, २०८१ २०:२७
x
×