महोत्तरी — महोत्तरीको बर्दिवास-२ र १४ का एक सय भन्दा बढी घर डुबानमा परेका छन् । मंगलबार बिहानदेखि लगातार परेको वर्षाले बस्ती नै जलमग्न बनेको छ। एकीकृत नमुना मुसहर बस्तिसँगै वरपरका टोलमा खोल्सी र नालाको पानि बस्तिमा पसेपछि घरहरु डुबानमा परेका हुन् ।
चुरेबाट बग्ने खोल्सी अतिक्रमण गरि घरटहरा बनाउदाँ समस्या भएको पीडितले बताए । चुरेदेखिनै स्थानीयले आफ्नो ढंगले नियन्त्रण गर्दा खोल्सीले बाटो खोज्दै आफ्नो बस्तीलाई क्षति पुर्याएको स्थानीय होमबहादुर भुजेलले बताए ।
पानीको निकास नहुँदा खोल्सी, नाला र निर्माण हुँदै गरेको रेल्वेको ड्यामले पनि बस्तीमा जोखिम निम्तिएको स्थानीयले बताएका छ्न् । रेल्वेले तत्कालै नाला नबनाउने हो भने बर्दिवासमा अझ बढी समस्या निम्तिने भुजेलले बताए ।
रेल्वेको ड्याम कसेर नाला नबनाउँदा पानी घरभित्र पसेको मिठु थापाले बताइन् । मंगलबार बिहान ४ बजेबाट लगातार परेको पानीले घर मा पानी भरिएपछि सडकममै बास भएको थापाले बताइन् । घरमा जलमग्न भएपछि खान बस्न समस्या भएको र घरका अन्नपात र सरसामान सबै डुबेर बर्बाद भएको उनले बताइन् ।
बर्दिवास-१४ का अध्यक्ष विजय महतोले बस्तीबाट पानीको निकास निकाल्न पहल भइरहेको बताए । केही ठाउँमा पालिकाको डोजर लगाएर पानी खोल्ने काम गरिएको र समस्या भएका अन्य ठाउँमा पनि तत्काल गर्न सकिने काम तत्काल गरिने महतोले बताए ।
वर्षाले जिल्लाको अन्य क्षेत्रमा भने अहिलेसम्म कुनै क्षति नगरेको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जनाए ।
प्रकाशित : असार २५, २०८१ १३:०३