कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

कोदालोले सडक खन्दा मजदुरको जीवन सहज

सन्तोष सिंह

धनुषा — महोत्तरी गाउँपालिका–१ का ५५ वर्षीय जिम्दार पासवान दैनिक मजदुरी गरी गुजारा गर्छन् । काम पाउँदा छाक टर्छ, काम नपाएको दिन सापटी, ऋण र उधारो थपिन्छ ।

कोदालोले सडक खन्दा मजदुरको जीवन सहज

काम गर्दा आएको ज्यालाले तरकारी, नुन तेल जोड्दा सकिन्छ । तर अहिले समूहमै काँधमा कोदालो र हातमा खाजा पानी बोकेर बिहानै सडक खन्न जान थालेपछि ऋण लिएर २ वर्ष पहिले छोरीको विवाह गरेका पासवानलाई एकमुस्ट पैसा पाएर ऋणको भारीबाट मुक्त हुने मौका मिलेको छ । दैनिक मजदुरीबाट ब्याज समेत बुझाउन नसकेका पासवानले ५० हजार ऋण चुक्ता गरेका छन् ।

एक महिनादेखि महोत्तरी गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम अर्न्तगत कृषि सडक बनाउन काम गर्दा आएको एकमुष्ट रुपैयाँले पासवानले छिमेकिबाट लिएको सापटी ऋण चुक्ता गरेका छन् । 'वर्ष दिनदेखि मजदुरीको पैसा एकमुस्ट हात परेको थिएन,' पासमानले भने,‘गाउँपालिकामा नाम सूचीकृत गराएर पाएको कामको ज्याला बैंक खातामा आउँदा हर्षित भएँ ।'

दुई महिनादेखि बिहानै कोदालो र खाजाको पोको लिएर कृषि सडक खन्न निस्किने पासवान सरकारले ३ सय दिन न्यूनतम रोजगारको व्यवस्था गरिदिए जीवन सहज बन्ने बताउँछन् । महोत्तरी गाउँपालिकाको सनउखरामा पासवानको समूहले बनाउँदै गरेको कृषि सडकमै काम पाएका अर्का मजदुर ३५ वर्षीय सन्तोष साफीले पनि उपचारका लागि ४० हजार लिएको कर्जा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएको भुक्तानीले बुझाएका छन् ।

'गुजाराका लागि मजदुरी गर्नु पर्ने बाध्यता छ, ' साफीले भने, ‘दैनिक मजदुरी एकै ठाउँमा हुदैन । २/४ दिन काम गर्दा हजार/२ हजार हुन्छ । जसरी पैसा आउँछ, खर्च हुँदै जान्छ । तर प्रधानमन्त्री रोजगार कार्यक्रममा एकमुस्ट ३०/४० हजार आउँदा ऋण, उधारो चुक्ता गर्न पाएको छु ।’


जिम्दार पासमान र सन्तोष साफीसँगै कोदालो लिएर कृषि सडक बनाउँदै भेटिएका मजदुरहरुले सरकारले गर्ने काममा स्थानीय मजदुरलाई काम दिए विदेश जानुपर्ने बाध्यताको अन्त हुने बताउँछन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काम गरिरहेका मजदुरहरु आफ्नै गाउँठाउँमा रोजगार पाएपछि खुशी भएका छन् ।

स्थानीय स्तरमा रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजगारहरूलाई न्यूनतम १ सय दिन रोजगारी दिने भनिएको छ । यसबाट विपन्न वर्ग लाभान्वित भएको पालिकाले जनाएको छ । चालु आर्थिक बर्षमा महोत्तरी गाउँपालिकाले करिब ४ किलोमिटर कृषि सडक निर्माण सुरु गरेको र उक्त कामका लगी करिब ४० जनालाई रोजगार प्रदान गरिएको महोत्तरी गाउँपालिकाले जनाएको छ ।

महोत्तरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अर्न्तगत ६ वटा कृषि सडक बनाउन दुई समुह बनाएर काम भइरहेको रोजगार संयोजक शोभाकान्त पाण्डेयले बताए । खेतीपातीका लागि प्रयोग हुने आलीको बाटोलाई सडकमा परिणत गर्न मजदुरले ४ किलोमिटर लम्बाइको ६ वटा कृषि सडक १५ लाखमा तयार गरेको पाण्डेयले बताए ।

महोत्तरीका अधिकाास स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग गरिरहेको गुनासो आइरहेका बेला महोत्तरी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटले करिब ४ किलोमिटर कृषि सडक निर्माण गर्न थालेपछि मजदुर र किसानहरु खुशी भएका छन् ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×