कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

विद्यार्थीले गरे अभिभावकलाई सम्मान

सुनिता बराल

महोत्तरी — महोत्तरीको बर्दिवास ३ स्थित जनता मावि गौरीडाँडाका विद्यार्थीले आफ्ना अभिभावकलाई सम्मान गरेका छन् । 

विद्यार्थीले गरे अभिभावकलाई सम्मान

३ दिनको उत्प्रेरणामूलक एवं प्रार्थना व्यवस्थापन कार्यशालाको समापनसँगै सम्मान कार्यक्रममा विद्यालय प्रांगणमा विद्यार्थी र अभिभावक निकै भावुक बनेका थिए । प्रशिक्षक हरिष वलीले व्यवस्थित प्रार्थना अभ्यास गराएपछि अभिभावकको महत्त्वसँगै आमाको महिमा बताएका थिए । प्रशिक्षकले आफ्नो वचन नसक्दै भावुक बनेका विद्यार्थीले आगामी दिनमा संस्कारी बन्ने र प्रगतिका लागि नयाँ प्रण गर्ने संकल्पसहित अभिभावकलाई माला र खादा लगाएर सम्मान गरेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजन ढुंगानाले जानकारी दिए ।

पशु विज्ञान, बाली विज्ञान, वाणिज्य संकाय, कानुन र विज्ञान विषयसहित कक्षा १२ सम्म संचालन हुँदै आएको जनता माविमा हाल २१ सय ४० विद्यार्थी अध्ययनरत छन् । सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक ज्ञान सिकाउने र विद्यार्थीलाई संस्कारी बनाउने उद्देश्यले विद्यालयले ३ दिनको कार्यशाला आयोजना गरी नकारात्मक भाव र बाटोबाट सकारात्मकतातर्फ फर्काउन यस्तो कार्यक्रम गरेको प्रधानाध्यापक रामसकल महतोले बताए ।


१० वर्षे गुरुयोजना बनाएर अघि बढेको जनता मावि मधेसकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । प्रधानाध्यापकहरुको राष्ट्रिय संजाल पानले एक हप्ताअघि मात्रै मधेशको उत्कृष्ट विद्यालयको रुपमा जनता माविलाई सम्मान गरेको छ । विद्यालयले बनाएको गुरुयोजनाबाटै निर्देशित भएर सकारात्मक बाटोमा लाग्ने उत्प्रेरणका लागि यस्तो कार्यक्रम विद्यालयले गरेको प्रअ महतोले बताए ।

विद्यालयमा सम्मानित हुने ५ सयभन्दा बढी अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, कर्मचारी र अन्यको विद्यालयलाई अघि बढाउन साझा धारणा र सकारात्मक सोच निर्माण भएको महतोले विश्वास व्यक्त गरे । उत्प्रेरणामूलक एवं प्रार्थना व्यवस्थापन कार्यशाला निकै प्रभावकारी भएको प्रतिक्रिया पाएको पनि महतोले बताए ।




प्रकाशित : जेष्ठ ३१, २०८१ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×