१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

रौतहटको राष्ट्रिय वनमा लागेको आगोले घाटगड्डीको दाउरा जल्यो 

शिव पुरी

रौतहट — रौतहटको राष्ट्रिय वनमा सोमबार लागेको आगोले डढेर झन्डै ५० चट्टा दाउरा खरानी भएको छ । आगो नियन्त्रणमा लिनसर्लाहीको हरिवन, बाराको निजगढ, गौर र चन्द्रपुर नगरपालिकाबाट ४ वटा वारुणयन्त्र पुगेर पानी हालिरहेका छन् ।

रौतहटको राष्ट्रिय वनमा लागेको आगोले घाटगड्डीको दाउरा जल्यो 

दिउँसो १ बजेदेखि लागेको आगो साँझ ५ बजेसम्ममा पनि निभाउन सकिएको छैन । आगो नियन्त्रणमा लिन इलाका प्रहरी चन्द्रनिगाहपुर, सन्तपुरको सशस्त्र प्रहरी र डिभिजन वनको टोली खटेको छ ।

डिभिजन वन कार्यालयअन्तर्गतको गैंडाटार सब–डिभिजन वनमा सोमबार दिउँसोदेखि आगो लागेको हो । आगलगीबाट घाटगड्डी गरी राखेको साल, कूकाठको दाउरा जलेर नष्ट भएको छ । डिभिजन वन प्रमुख शैलेन्द्र मिश्रले चारवटा वारुणयन्त्रले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको बताए ।

बिहानदेखि चलेको हावाका कारण आगो नियन्त्रणमा आउन समस्या भएको वन कर्मचारीहरूले बताए । क्षतिको विवरण यकिन गर्ने काम भइरहेको वनप्रमुख मिश्रले बताए । ‘आगजनीबाट ठूलो मात्रामा दाउरा जलेर नष्ट भयो । हामी नियन्त्रणमा लिने प्रयास गरिरहेका छौँ,’ उनले भने ।

विद्युत् प्रसारण लाइनमुनि पर्ने रुखहरू काटेर ४ वर्षअघि राजमार्गछेउमा घाटगड्डी गरी राखिएको दाउरामा आगो लागेको हो । डढेलोका कारण बर्सेनि रौतहटको वनमा करोडौंको काठ दाउरा जलेर नष्ट हुने गरेको छ । अहिले डढेलो लाग्न सुरु भइसकेको छ । डढेलो रोक्न भन्दै डिभिजन वनले २९ हजार ४ सय हेक्टर वनक्षेत्रमा जम्मा ९ जना अग्निनियन्त्रक नियुक्त गरेको छ ।


प्रकाशित : चैत्र १९, २०८० १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?