कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किर्ते गरी व्यक्तिको नाममा दर्ता भएको चार बिघा जग्गा सरकारको नाममा फिर्ता

भूषण यादव

वीरगन्ज — किर्ते गरी व्यक्तिको नाममा दर्ता गरिएको जग्गा पुनः सरकारको नाममा कायम भएको छ । पर्साको जगरनाथपुर गाउँपालिका–३ बिजबनीयामा रहेको करिब ४ बिघा सरकारी जग्गा किर्ते कागजात खडा गरी व्यक्तिको नाममा नामसारी भएको थियो ।

मालपोत कार्यालय पर्सामा उजुरी परेपछि प्रमाणसहितको कागजातको आधारमा बुधबार सो जग्गा नेपाल सरकारको नाममा फिर्ता भएको हो ।

साविकको बिजबनीया गाविस–२ स्थित नदी किनारको कित्ता नम्बर ६२ को तीन बिघा १८ कठ्ठा जग्गा किर्ते कागजातको आधारमा दुईजना व्यक्तिले आफ्नो नाममा नामसारी गराएका थिए । बहुदरमाई नगरपालिका– २ विश्रामपुर निवासी चन्द्रकली कुर्मीन र महेन्द्र प्रसाद गोढले सो सरकारी जग्गा आफ्नो नाममा दर्ता गराएका थिए ।

सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता भएको सूचना स्थानीयले गाउँपालिका कार्यालयमा दिएपछि पालिकाले प्रमाण संकलन गरी मालपोतमा पत्राचार गरेको थियो । गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले जग्गा सरकारको नाममा फिर्ता गराउन मालपोत कार्यालयलाई पत्राचार गरेका थिए ।


‘गाउँपालिका कार्यालयले प्रमाण सहितको कागजात मालपोतलाई उपलब्ध गराएको थियो,' जगरनाथपुर गाउँपालिका अध्यक्ष यादव भन्छन्, व्यक्तिको नाममा दर्ता भएको जग्गा पुनः सरकारको नाममा फिर्ता आएको छ ।’

मालपोतको मुद्दा फाँटको अनुसन्धानले सो जग्गा चन्द्रकली कुर्मीन र महेन्द्र प्रसाद गोढको नभएको ठहर गरेपछि उनीहरुको नाममा दर्ता गरिएको जग्गाको लालपुर्जा खारेज गरी नेपाल सरकारको नाममा लालपुर्जा बनाएको अध्यक्ष यादवले बताए । सो जग्गामा गाउँपालिकाले १५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना रहेको यादवले बताए । यसका लागि छिट्टै निर्णय गरिने उनले जनाए ।

प्रकाशित : फाल्गुन १८, २०८० १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?