३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कुलो-इनार सुके, ट्यांकरले खेतमा सिँचाइ

सन्तोष सिंह

धनुषा — मिथिला नगरपालिका–५ बिश्रामपुर भन्दा उतरतर्फ औरही खोला आसपासको खेत दशकअघिसम्म सुक्खा समयमा पनि गहुँ खेतीले फाँट हरियो देखिन्थ्यो । कुलोमा ल्याएको खोलाको पानीले खेतमा सिँचाइ हुँदा किसान धान भित्र्याएपछि गहुँ, तेलहन बालीसँगै तरकारी उब्जाउँथे । तर अहिले यहाँको अवस्था फरक बनेको छ । कुलोमा खोलाको पानी छैन । खेतमा सिँचाइ नहुँदा कतै सुक्खा बनेको छ भने कतै खाली छ ।

कुलो-इनार सुके, ट्यांकरले खेतमा सिँचाइ

कुलोबाट सहजै खेतमा आइपुग्ने खोलाको पानी सुकेपछि सिँचाइको विकल्प नहुँदा गहुँ हुर्किएर हरियो बनिसक्नु पर्ने बेला खेत बाँझै बनेको हो ।

फागुन दोस्रो सातासम्म हिउँदे वर्षा पर्खिरहेका किसान अन्यौलमा परेका छन् । उखु रोप्ने सिजन सुरु भइसक्दा समेत पानी नपर्दा किसान ट्यांकरमा पानी ओसारेर खेत भिजाउन थालेका छन् । मिथिला नगरपालिका–५ श्रीपुरका रोहित महतोले उखु लगाउन ट्यांकरले खेतमा पानी हाल्नु परेको बताए ।

समयमै उखु रोप्न इनारबाट खेत सिंचाइ गर्न पालो कुर्न थालेको दुई साता भयो । रोप्न तयार गरेको उखु घाम र हावाले सुक्न थालेको छ । छिमेकीको गहुँँ सिँचाइ गर्नै इनार नपुगेपछि उखु लगाउन ट्यांकरबाट खेतमा पानी छर्किनु परेको रोहितले बताए । मधेशतिर सडकमा छर्किन र भोजमा खानेपानी ओसार्ने ट्यांकर यतिबेला खेतमा सिँचाइका लागि पानी ढुवानी गर्न प्रयोग भइरहेको छ ।

‘आकाशबाट पानी परेको छैन । उखु रोप्न माटोमा चिसो (पानीको मात्रा) हुनुपर्ने । उखु लगाउने बेला भइसक्यो कुनै उपाय लगाउनै पर्छ । खेत खाली छाड्न पनि मिल्दैन,’ रोहितले भने, ‘औरही खोलाको मुहान सुकेपछि कुलोमा पानी नआएको १० वर्ष भयो । पछि सिँचाइ इनारबाट हुन थाल्यो । अहिले इनारमा समेत पानी छैन ।’ अन्य विकल्प नभएपछि ट्याक्टरमा ट्यांकर जोडेर पानी छर्किनु परेको उनले बताए । बोरिङबाट पानी खरिद गरेर ट्यांकरले उखु रोप्ने खेतमा हाल्नु परेको उनले सुनाए ।

रोहितको खेतनजिकै ३/४ वर्षअघि सरकारी बजेटबाट बोरिङ जडान भए पनि सञ्चालन नहुँदै सुकेको छ । मिथिला नगरपालिका–५ मा पूर्वपश्चिम राजमार्ग भन्दा उतरतर्फ उखु रोप्न किसानलाई सिँचाइको समस्या भइरहेको हो । सिँचाइ अभावमा ट्यांकरले पानी छर्केर जेनतेन उखु रोप्नु परेको स्थानीय श्रीनरायण महतोले बताए ।

‘एक बिग्हा खेतमा उखु रोप्न ६ ट्यांकर पानी खेतामा हाल्नु पर्‍यो,’ श्रीनरायणले भने,‘आफ्नै इनार र ट्याक्टर हुनेलाई सस्तो छ । तर ट्याक्टर नहुनेलाई प्रति ट्यांकी २ हजारका दरले खर्च लाग्छ ।’ एक ट्यांकर पानी भर्न बोरिङले २ सय रुपैयाँ लिने गरेको उनले बताए । मिथिला–५ को वडा कार्यालयले सिँचाइकालागि पानी ढुवानी गर्न ट्यांकर भाडामा लगाउने गरेको छ । स्थानीयले पनि वडा कार्यालयकै ट्यांकर खेतमा पानी हाल्न प्रयोग गरिरहेका छन् । वडा कार्यालयले प्रतिदिन ६ सय रुपैयाँ भाडा लिएर ट्यांकर भाडामा लगाउने गरेको छ ।


चुरेसँग जोडिएको खेतमा खोलाको पानी पछिल्लो १० वर्षयता आएको छैन । जथाभावी खोला उत्खनन्ले यस क्षेत्रमा पानीको मुहान मासिएको स्थानीयको भनाइ छ । मिथिला–५ का दुखिलाल महतो औरही खोलाको किनारमा रहेको खेतमा उखु रोप्न एक सातादेखि हेरक बिहान खेतमा पानी लगाउन पुग्छन् । वर्षा नहुँदा उखु रोप्न समस्या भएपछि इनारमा मोटर जडान गरी पानी लगाउन दिनहु जानु परेको छ ।

कुनैबेला औरही खोलाको पानी कुलोबाट आउदा खेत नै डुब्थ्यो । खोलाको पानीले डुब्ने खेतमा अहिले धुलो मार्न पानी छर्केर उखु रोप्ने तयारी हुँदै छ । खोलाको पानी लगाएर प्रतिका चार मन धानसहित वर्षमा तीन बाली उब्जिने खेतमा सिँचाइ असुविधा भएपछि अचेल उखु रोप्न पनि बोकेर पानी ल्याउनु परेको छ ।

पर्याप्त पानी नहुँदा इनारबाट पाइप लगाएर आएको पानी छर्केर माटोको माथिल्लो भाग भिजाउने गरेको दुखिलालले बताए । ‘नदीको पानी सुकेपछि उखु खेती गर्न पनि हम्मेहम्मे छ । सिंचाइको माध्यम खोला र इनार हो । मुहान सुकेपछि खेतमा सिंचाइ गर्न मोटर चलाउँदा इनार १ घण्टामै सुक्छ । इनारबाट दिनमा एक कट्ठा मात्रै सिंचाइ हुन्छ,’ दुखिलालले भने ।

रातभरि इनारमा पानी जम्मा भएपछि बिहान एक घण्टा मोटर चल्दा इनार सुक्ने गरेको उनले बताए । मिथिला नगरपालिका श्रीपुरका ४२ वर्षीय लक्ष्मण यादव र बिश्रामपुरका ३२ वर्षीय प्रमोद शर्मा गहुँँमा पानी लगाउन खेतमै बास बस्न थालेका छन् । पानी समयमा लगाउन नसक्दा गहुँँका बोट सुक्न थालेका छन् । इनारबाट आलोपालो गरी मोटरले पानी लगाउन किसानहरु खेतमै बास बस्ने गरेका छन् । ‘४०/४५ मिनेट मोटर चल्दा इनार सुक्छ,’ यादवले भने,‘२/३ घण्टा मोटर बन्द गरेपछि पानी जम्मा हुन्छ । त्यसका लागि रातदिन खेलमा पालो कुर्नपरेको छ ।’ सिंचाइ सुविधा पर्याप्त नहुदा धान काटेपछि अन्य खेती गर्न नसकेको उनीहरुको भनाइ छ ।

मिथिला नगरप्रमुख महेन्द्र महतोले औरही खोलामा हुने अबैध उत्खनन्का कारण इनार, बोरिङ र कुलो सुके पनि ट्यांकरले सिँचाइ गरेर उखु रोप्ने कुरा अस्वभाविक रहेको बताए ।

‘ट्यांकरको पानीले उखु रोप्नु सम्भव छैन,’ नगरप्रमुख महतोले भने,‘ट्यांकरमा बोकेर खेतमा पानी लगाउने कुरा सम्भव पनि होइन । यो एक/दुई जनाले सानो क्षेत्रफलमा यसरी खेती गरेको हुन सक्छ ।’ विकृतिका कारण खोला सुक्दा यस क्षेत्रका किसानलाई समस्या भएको उनले स्वीकारे ।

मिथिला नगरमा सुक्खा भूमि भए पनि अधिकांश स्थानीय खेतीमै आश्रित रहेकाले सिंचाइकालागि डिप बोरिङको योजना अगाडि बढाएको उनले बताए । ‘चालु वर्षमा पनि १७ वटा बोरिङका योजना छन् । नगरभित्र रहेको पुराना बोरिङ सञ्चालनको प्रक्रिया पनि अगाडी बढाइएको छ,’ नगरप्रमुख महतोले भने ।

नगरपालिका कृषि शाखा अधिकृत सञ्जयकुमार महतोले नगरपालिकामा सिँचाइकालागि कार्यान्वयन भएका योजनाको विवरण शाखामा उपलब्ध नरहेको बताए । ‘बोरिङ जडान भएको, जडान हुन बाँकी रहेको र सञ्चालन रहेको जानकारी कृषि शाखामा छैन,’ उनले भने । नगर क्षेत्रमा १९ हजार हेक्टर खेतीयोग्य जग्गा मध्ये ३५ प्रतिशतमा मात्र सिंचाइ सुविधा पुगेको उनले बताए ।

प्रकाशित : फाल्गुन १३, २०८० २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?