कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मधेशका मुख्यमन्त्रीलाई आलोचनासँगै विश्वासको मत

पक्षमा कांग्रेस, माओवादी, जसपा र लोसपालगायतका गरी ६९ मत, विपक्षमा एमाले र जनमतको मतदान
सन्तोष सिंह

धनुषा — सत्ता गठबन्धनकै सांसद र मन्त्रीहरूले कार्यशैलीमाथि आलोचना गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई तेस्रो पटक विश्वासको मत दिएका छन् । बिजनेस नदिई प्रदेशसभा महिनौं ठप्प बनाएको, बजेट खर्च गर्न नसकेको, सरकारले योजना आफूअनुकूल चलाएको र प्रदेशलाई गति दिन केही गर्न नसकेको आरोप लगाउँदै सत्ता गठबन्धनका सांसदहरूले मुख्यमन्त्री यादवलाई आइतबार विश्वासको मत दिएका हुन् । 

मधेशका मुख्यमन्त्रीलाई आलोचनासँगै विश्वासको मत

गत माघ ९ मा जनमत पार्टीले प्रदेश सरकारबाट समर्थन फिर्ता लिँदै दुई मन्त्रीलाई राजीनामा गराएपछि यादवले तेस्रो पटक विश्वासको मत लिनुपरेको हो । मुख्यमन्त्री यादवलाई ६९ जना सदस्यले विश्वासको मत दिएका छन् । प्रदेशसभाका १ सय ७ सदस्यमध्ये आइतबार १ सय ४ जना उपस्थित थिए । एमाले र जनमतका गरी ३५ सांसदले विपक्षमा मतदान गरे । जसपाका मुख्यमन्त्री यादवलाई सतारूढ दल कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले विश्वासको मत दिएका छन् ।

प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका २३, कांग्रेसका २२ र जसपाका १८, जनमत पार्टीका १३, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका ९/९ सांसद छन् । लोसपा संसदीय दलका नेता अभिराम शर्मा महोत्तरी जिल्ला अदालतबाट जन्मकैद सजाय पाएर निलम्बित छन् । राप्रपा, नेसपा र नागरिक उन्मुक्ति पार्टीका १/१ सांसद छन् भने एक जना स्वतन्त्र सांसद छन् ।

मुख्यमन्त्री यादवले संविधान २०७२ को धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत पाऊँ भनी राखेको प्रस्तावमा बोल्दै लोसपाका सांसद उपेन्द्र महतोले मुख्यमन्त्रीको कार्यशैलीले संघीयता बदनाम भइरहेको आरोप लगाए । ‘सरकारको रवैयाले दर्द हुन्छ,’ महतोले भने, ‘प्रदेश सरकारबारे सांसदलाई जनताले सवाल सोध्छ, मन्त्रीले नै मन्त्रीलाई किन कुट्छ ?’ प्रमुख प्रतिपक्षी एमालेका नेता सरोज यादवले यथास्थितिलाई अस्वीकार गर्ने हिम्मत गरेको भन्दै जनमत पार्टीलाई धन्यवाद दिँदै मधेश सरकार मुख्यमन्त्रीभन्दा अरू कसैले चलाइरहेको आभास भएको आरोप लगाए ।

गठबन्धन दल कांग्रेस नेता कृष्ण यादवले प्रदेश सरकारका कामकारबाहीबाट आफूहरू खुसी नरहेको बताए । ‘६ वर्षको जसपा नेतृत्वको सरकारबाट मधेशी जनता खुसी छैनन्, हामी पनि खुसी छैनौं,’ उनले भने । प्रदेश सरकारको कार्यसम्पादन कमजोर हुँदा जनताको असन्तुष्टि मात्र नभई संघीयता खतरातर्फ गइरहेको भन्दै यादवले असन्तुष्टि पोखे ।

संसद्मा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री यादवले मन्त्री हुँदा सबै ठीक र नहुँदा बेठीक जस्ता कुरा नगर्न एमाले र जनमतका नेतालाई आग्रह गरे । ‘मैले कुन मन्त्रीलाई काम नगर्नोस् भनेको छु ?’ उनले भने, ‘कुन मन्त्रीसँग योजनाबारे बुझ्न खोजेको छु ? कुन मन्त्रीसँग पैसा मागेको छु ।’ बैठकको प्रारम्भमा जनमत पार्टीले मुख्यमन्त्रीको उपस्थितिमै सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय शिलान्यास कार्यक्रममा सहकुलपतिसमेत रहेका शिक्षामन्त्रीमाथि सांघातिक आक्रमण भएको भन्दै मुख्यमन्त्रीको जवाफ र माफी खोज्दै बैठक अवरुद्ध गरेका थिए । मुख्यमन्त्रीले आगामी बैठकमा जवाफ दिने सहमति जनाएपछि बैठक अगाडि बढेको थियो ।

मधेश प्रदेशसभाको बैठक दुई महिनापछि बसेको हो । पछिल्लो पटक गत मंसिर २० मा दोस्रो अधिवेशनको एघारौं बैठक बसेर स्थगित गरिएको थियो । त्यसपछि बैठक बस्न सकेको थिएन । प्रदेशसभाको पहिलो अधिवेशनको ३६ वटा र दोस्रो अधिवेशनको ११ गरी ४७ वटा मात्र बैठक बसेको छ । सभामुख रामचन्द्र मण्डलले सरकारले बिजनेस नदिँदा प्रदेशसभा बस्न नसकेको बताए । प्रदेशसभाको दोस्रो कार्यकालमा आर्थिक र विनियोजनबाहेक नौवटा विधेयक पेस गरिएकामा मधेश प्रदेशका केही ऐन संशोधन गर्न बनेको विधेयक २०७९, आर्थिक विधेयक २०८० र मधेश प्रदेश विनियोजन विधेयक २०८० मात्र पारित भएको छ ।

प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९, प्रदेश बालअधिकार ऐन २०७९ को पहिलो संशोधन, मधेश प्रदेश सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०, प्रदेश कृषि विकास विधेयक २०८० र स्थानीय सेवाको गठन, सञ्चालन र सेवासर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० संसदीय समितिमा छलफलको क्रममा छ ।

प्रकाशित : फाल्गुन ७, २०८० ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?