११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

राजविराज नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत फिर्ता पठायो

अदालत जान्छु : प्रशासकीय अधिकृत गुरुङ
अवधेशकुमार झा

राजविराज — सप्तरीको राजविराज नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद गुरुङलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै फिर्ता पठाएको छ ।

राजविराज नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत फिर्ता पठायो


माघ १९ गतेको कार्यपालिका सदस्यहरुको बैठकको निर्णय बमोजिम फागुन १ गतेदेखि लागु हुने गरी संघीय मामिला तथा समान्य प्रसासन मन्त्रालयमा फिर्ता पठाईको कार्यवाहक नगरप्रमुख ईसरत परविनद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ । गुरुङ २०८० साल भदौ २५ गते राजविराज नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका थिए ।

‘प्रमुख प्रशासकीय अधिकृतभन्दा पनि नेता बन्न खोजेपछि कार्यपालिकाले गुरुङलाई मन्त्रालय फिर्ता पठाउने निर्णय गर्न बाध्य भयो’ राजविराज नगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष जयनारायण मण्डलले भने । नगरपालिकाको काम भन्दा अरु काममै व्यस्त हुने,जनप्रतिनिधीहरुबीच द्वन्द्व सिर्जना गराउने, विभिन्न बहानामा नगरपालिकाको कामलाई नगरी टार्दे जाने गरेकोले फिर्ता गरिएको कार्यबाहक नगरप्रमुख ईसरत परविनको आरोप छ । 'विभिन्न निकायमा पठाउनुपर्ने रिपोर्ट नपठाउने अनि केही गैरकानुनी कार्यहरु गरेकाले गुरुङलाई मन्त्रालय फिर्ता पठाउने निर्णयमा हामी पुग्यौ’ उनले भनिन् ।

कार्यपालिकाले निर्णय गरि मन्त्रालय फिर्ता पठाएका प्रमुख प्रशासकीय अधिकृत गुरुङले आफूले यो निर्णय मान्नुपर्ने बाध्यता नरहेको दाबी गरे । ‘मैले यो निर्णय मानिईरहनुपर्ने बाध्यता छैन,’ गुरुङले भने,‘म अदालत जान्छु,अदालतले गर्ने निर्णयको प्रतीक्षा गर्छु ।’ जनप्रतिनिधिहरुबीचको द्वन्द्वको मारमा आफूलाई पारेको उनको गुनासो छ ।

करारका कर्मचारी हटाउने कि राख्ने सन्दर्भमा कार्यपालिकाका सदस्यहरुबीचको विवादमा आफूले हटाउने वा राख्ने कुनै विषयमा हस्ताक्षर नगरेकाले तारो बनाईएको उनको आरोप छ । ‘एक अर्ब ११ करोड को अख्तियारी प्राप्त ब्यक्ति म हुँ,सचेत रुपमा खर्च गर्नका लागि सबै कानुन बुझ्नुपर्छ,कानुन अनुसार गर्न खोज्दा तारो बनाइन्छ’ गुरुङले भने ।

प्रमुख प्रशासकीय अधिकृत गुरुङलाई फिर्ता पठाउने निर्णयसँगै कार्यवाहक नगरप्रमुख केही दिन यता संघीय राजधानीमा छिन् । ‘दरबन्दीकै उपसचिव नयाँ हाकिमको व्यवस्थापनका लागि राजधानी छु’ टेलिफोनमा उनले भनिन् ।

राजविराज नगरपालिकाका निर्वाचित नगरप्रमुख भिमराज यादव भ्रष्टाचार मुद्दामा निलम्बित भएका कारण उप प्रमुख ईसरत परविन कार्यवाहक नगरप्रमुख छिन् । यो नगरपालिकाका धेरै योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

प्रकाशित : फाल्गुन १, २०८० १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?