कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

भाडाको घरमा राजर्षि जनक विश्वविद्यालय

कान्तिपुर संवाददाता

जनकपुर — स्थापनाको ६ वर्ष पुगे पनि जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालय (आरजेयू) को आफ्नो भवन छैन । जनकपुरको रामानन्द चोकदेखि भ्रमरपुरा चोकसम्म साना दर्जनजति घर भाडामा लिएर विश्वविद्यालय चलाइएको छ । ९ वटा कोर्समा अध्यापनसमेत थालेको आरजेयूले कक्षा पनि भाडाकै घरमा सञ्चालन गरिरहेको छ । 

भाडाको घरमा राजर्षि जनक विश्वविद्यालय

स्थापनादेखि नै धर्ना, आन्दोलन र तालाबन्दीले थलिएको आरजेयू २ वर्षसम्म पदाधिकारीविहीन बन्यो । यहाँ बल्ल कर्मचारी र शिक्षक भर्ना थालिएको छ । २०७४ भदौ ४ मा स्थापना भएको आरजेयूले सुरुमा ५ जना करार शिक्षक र ७ जना पेपर कन्ट्र्याक्ट शिक्षक नियुक्त गरेर कक्षा सञ्चालन गरेको थियो । विश्वविद्यालयका संघर्षरत शिक्षक दिलीप यादवका अनुसार आरजेयूको सुरुवातदेखि नै नयाँ सेमेस्टरमा रुटिनको समस्या, नियुक्तिमा ढिलाइ र तलब भुक्तानीको समस्या थियो । ‘आफ्नै गाउँठाउँको विश्वविद्यालय भएकाले समस्या झेल्दै अध्यापन गराएँ,’ उनले भने, ‘तर हामीलाई आन्दोलनमा उत्रिन बाध्य पारियो ।’

नेपाल मधेश फाउन्डेशनले जनकपुरमा आयोजना गरेको राजर्षि जनक विश्वविद्यालयको विगत र वर्तमान नीति संवादमा आरजेयूलाई तंग्रर्‍याउन थुप्रै सुझाव दिइएको छ । उपकुलपति अमरप्रसाद यादवले आरजेयूलाई लयमा ल्याउने प्रयास भइरहेको बताए । चैतसम्ममा जग्गा प्राप्ति गरेर विश्वविद्यालयको आफ्नै भवन बनाउन शिलान्यास सक्ने उनले दाबी गरे । ‘कृषि, वन, आईटी र इन्जिनियरिङ कोर्समा हाम्रो बढी ध्यान छ,’ उनले भने ।

रजिस्टार सत्यनारायण साहले विश्वविद्यालयलाई प्रदेश सरकारले वास्ता नगरेको आरोप लगाए । यहाँ सन् २०२२ मा लिइएको अन्तिम सेमेस्टरको परीक्षाफल अझै प्रकाशित गरिएको छैन । साहले भने, ‘१४ जना विद्यार्थीको परीक्षाफल रोकिएको छ । फागुनसम्ममा सबै रिजल्ट प्रकाशित गरेर पहिलो दिक्षान्त समारोह चैत–वैशाखमा गरिने तयारी छ ।’

प्रदेशसभा सांसद रामसरोज यादवले आरजेयूका आधार बलियो बनाउनुपर्ने सुझाव दिए । मधेश प्रदेशका पूर्वमन्त्री सुरेश मण्डलले आरजेयूको गुणस्तर बढाउनेतिर लाग्नुपर्ने सुझाव दिए भने जनमत पार्टीका प्रदेश सांसद सञ्जय यादवले विश्वभरिका विश्वविद्यालयमा अध्यापन गराइरहेका प्राध्यापकको सेमिनार गर्नुपर्ने बताए ।

आरजेयूमा हाल ८ जना स्थायी र २३ जना करार शिक्षक छन् । ९ वटा कोर्समा २ सय २४ जना विद्यार्थी भर्नाको कोटा छ । एमफिलबाहेक आरजेयूमा हाल सबै सेमेस्टरमा ७ सय २२ जना विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित : फाल्गुन १, २०८० ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?