९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

चन्द्रनिगाहपुरमा वित्तीय संस्था पीडितको प्रदर्शन 

शिव पुरी

रौतहट — रौतहटको चन्द्रनिगाहपुरमा बिहीबार लघुवित्त, वित्तीय संस्था विरुद्धको संघर्ष समितिले जुलुस निकालेको छ ।

चन्द्रनिगाहपुरमा वित्तीय संस्था पीडितको प्रदर्शन 

लघुवित्त तथा वित्तीय संस्था पीडितहरुले पूर्व-पश्चिम राजमार्गमा जुलुस निकालेका हुन् । पीडित भनिएकाहरुले राजमार्गमा चक्का जाम गर्ने भनेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । उनीहरुले 'सामूहिक ऋण मिनाहा गर', 'रौतहटका मिटरब्याजी शिवप्रसाद राय यादवलाई पक्राउ गर', 'जनताको सिप र क्षमताको आधारमा दामको व्यवस्था गर', 'लघुवित्त र सहकारीमार्फत सर्वसाधारणलाई दु:ख दिनेलाई कारबाही गर' जस्ता नारा लगाउँदै नगर परिक्रमा गरेका थिए । ठूलो संख्यामा उपस्थित रहेका सुरक्षाकर्मीले उनीहरुले गर्ने भनेको चक्काजाम हुन दिएनन् ।

आफूहरुको शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन अन्य जिल्लाबाट आएका पीडितहरुलाई प्रहरीले रौतहटको वाग्मती र धन्सारमा रोकेको मिटरब्याज तथा ठगी विरुद्धको किसान मजदुर संघर्ष समिति रौतहटका संयोजक शिवशंकर महतोले आरोप लगाए । नाराजुलुससहित चन्द्रपुरका विभिन्न स्थानमा परिक्रमापछि आयोजित कोणसभामा बोल्दै संघर्ष समिति मधेश प्रदेशका संयोजक धनीराम चौधरीले शान्तिपूर्ण आन्दोलनलाई विभिन्न पार्टी र व्यक्तिसँग जोडेर सुरक्षाकर्मीले कार्यक्रमस्थलमा पीडितहरुलाई आउन नदिएको आरोप लगाए । 'हामी कुनै पार्टी र व्यक्तिको पछि लागेर विरोधका कार्यक्रम गरेका छैनौं,' उनले भने, 'यो ऋणको नाममा उठिबास लगाउने र मिटरब्याजी विरुद्धको आन्दोलन हो ।'

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कुनै अप्रिय घटना र राजमार्ग बन्द नभएको बताए ।

प्रकाशित : मंसिर २१, २०८० १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?