कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

सिरहामा नदी दोहन : चाइना रेल्बेका कम्पनीका साइट इन्चार्ज छ्याङ पक्राउ

अवधेशकुमार झा

राजविराज — अवैध रुपमा नदीजन्य सामग्री उत्खनन गरेको आरोपमा डिभिजन वन कार्यालय सिरहाले एकजना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ ।

सिरहामा नदी दोहन : चाइना रेल्बेका कम्पनीका साइट इन्चार्ज छ्याङ पक्राउ

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुर–कमला सडक निर्माण गरिरहेको चाइजिन कम्पनी चाइना रेल्बे कम्पनीका समुह-२ का साइट इन्चार्ज हुस्या छ्याङलाई बिहिबार नियन्त्रणमा लिईएको डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुजितकुमार झाले जानकारी दिए ।

छ्याङलाई चाइना रेलबे कम्पनीको लहान १४ स्थित क्रसर उद्योगबाट नियन्त्रणमा लिईएको डिभिजन प्रमुख झाले जानकारी दिए । लहानस्थित खुटीखोला र झवाई खोल्सीको बीचबाट नदीजन्य सामग्री उत्खनन गरिरहेको अवस्थामा डिभिजन वन कार्यालयले बुधबार चाइना रेल्बे कम्पनीको काममा प्रयोग भएका दुईवटा स्काभेटरलाई नियन्त्रणमा लिएको थियो ।

सो स्काभेटरका चालकहरुलाई पनि बिहीबार नियन्त्रणमा लिईएको र उनीहरुको बयानका आधारमा चाइना रेलबेका साइट इन्चार्ज छ्याङलाई नियन्त्रणमा लिईएको डिभिजन वन प्रमुख झाले बताए । पक्राउ गरिएका चाइनिज नागरिकलाई म्याद थप गरि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने झाले जनाए ।

महेन्द्र राजमार्गको निर्माणाधिन कञ्चनपु–कमला सडक आयोजनाको निर्माण गरिरहेको चाइना रेल्बे कम्पनीले सिरहाको लहानस्थित खुटीखोला र झवाइ खोल्सीको बीचमा अवैध रुपमा उत्खनन गरी नदीजन्य सामग्री लग्न खोजेपछि डिभिजन वन कार्यालयले बुधबार दुई स्काभेटर नियन्त्रणमा लिएको थियो ।

नदीजन्य सामग्री लोड गरि लग्नका लागि प्रयोग गरिएका टिपरहरु भने चालकले लिएर भागेका थिए । नियन्त्रणमा लिइएको स्काभेटरका चालक पनि बुधबार भागेका थिए । तर बिहीबार बिहान दुवै स्काभेटरका चालकलाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय सिरहाका प्रमुख सुजितकुमार झाले जानकारी दिए । चालकहरु सिरहाको कर्जन्हा २ का बिन्देश्वरकुमार महतो र सप्तरी सुरुङगा १ का अजय चौधरीलाई नियन्त्रणमा लिएर सातदिनको म्याद थप गरि अनुसन्धान कार्य अघि बढाईएको झाले जनाए ।

चाइना रेल्बेले कार्यमा लगाएका मजदुर र स्काभेटरले सिरहाको लहान १५ स्थित झवाई खोल्सी सामुदायिक वन र लहान २४ स्थित सुबेदार चौरी सामुदायिक वनको बीचमा १३ मिटर लामो,१० मिटर चौडा र दुई दसमलव २५ मिटर गहिरो उत्खनन गरि नदीजन्य सामग्री लगेपछि स्काभेटर चालकलाई नियन्त्रणमा लिएको हो । डिभिजन वन कार्यालय सिरहाले नदीजन्य सामग्रीको ९२ हजार ९ सय ६५ रुपैयाँ ८६ पैसा बिगो कायम गरि दुवै स्काभेटरलाई दसी प्रमाणको रुपमा राख्दै मुद्दा प्रक्रिया अघि बढाएको छ ।

प्रकाशित : मंसिर १५, २०८० १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?