कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण थाल्न दबाब

अवधेशकुमार झा

राजविराज — रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य सुरु गर्न माग गर्दै सप्तरीका युवाहरु एक सातादेखि दबाबमूलक आन्दोलनमा छन् । 

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण थाल्न दबाब

सप्तरी युथ नेपाल राजविराजले सत्येन्द्र यादवको संयोजकत्वमा संघर्ष समिति नै बनाएर आन्दोलनलाई निरन्तरता दिएका छन् । उनीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय अगाडि दुई घण्टा धर्ना दिएका छन् । उनीहरुले बिहीबार प्रशासन अगाडि एक घण्टा धर्ना दिए ।

‘सप्तरी र अन्य जिल्लाको आर्थिक, समाजिक र शैक्षिकलगायत बृहत् हितसँग जोडिएको प्रतिष्ठानको कामकाज अविलम्ब चालु गर्नुपर्ने, पूर्वाधार तयारी विकास समितिको म्याद थप गर्नुपर्ने, विकास समितिमा अध्यक्ष लगायतका पदाधिकारी तत्काल नियुक्त गर्नुपर्ने, बजेट व्यवस्थापन गर्नुपर्नेलगायत मागसहित हामीले आन्दोलन सुरु गरेका हौं,’ संयोजक यादवले भने, ‘संघीय सरकार यो विषयमा गम्भीर होस् ।’

सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादवले प्रतिष्ठान निर्माणमा कुनै राजनैतिक दाउपेच लगाएर ओझेलमा पार्नु न्यायसंगत नहुने बताए । उनले माग पूरा नहुन्जेल आन्दोलन जारी रहने चेतावनी दिए ।

२०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको प्रतिष्ठान निर्माण कार्य अघि बढ्न सकेको छैन । प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको गठन आदेशको म्याद समाप्त भइसकेको र विकास समितिमा अध्यक्ष, कार्यकारी निर्देशकलगायतका पदाधिकारीको पदपूर्ति हुन नसक्दा प्रतिष्ठान निर्माण ओझेलमा परेको हो । प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको कार्यालयमा कार्यरत करारकी कम्प्युटर अपरेटर नितुकुमारी दासलाई अहिले जिल्ला प्रशासन कार्यालयमा खटाइएको छ । त्यहाँ रहेको कम्प्युटर पनि प्रशासन कार्यालयमा लगिएको छ । अहिले समितिको कार्यालय बोर्डमा मात्र सीमित भएको छ भने प्रतिष्ठान निर्माणस्थल राजविराज-१० बिरौलको जग्गा खेलमैदानमा परिणत भएको छ ।

समितिका अध्यक्ष रोहित पोखरेलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न गत असोज २३ मा राजीनामा दिएपछि उक्त पद खाली भएको हो । यस्तै कार्यकारी निर्देशक रहेका डा. रन्जितकुमार झा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजबाट काज सरुवा भई दोलखाको चरिकोट अस्पताल गएपछि कार्यकारी निर्देशकको पद पनि रिक्त छ ।

आर्थिक वर्ष ०७८/७९ मा प्रतिष्ठानमा कुल ९ करोड ७५ लाख रुपैयाँ बजेट आएको थियो । जसमध्ये १ करोड ९४ लाख ९१ हजार ६ सय १२ रुपैयाँ मात्र खर्च भएको थियो भने ८ करोड २५ लाख ८ हजार ३ सय ८७ रुपैयाँ फिर्ता भएको थियो । खर्च भएकोमध्ये ७२ लाख ३ हजार ३ सय ३० रुपैयाँ प्रतिष्ठानको निर्माणस्थलको जग्गाको तारजाली घेराबेराको भुक्तानी दिइको थियो ।

यस्तै वातावरणीय प्रभाव मूल्यांकनमा ७ लाख ९ हजार र जोखिमसम्बन्धी अध्ययनका लागि १९ लाख ६७ हजारको भुक्तानी दिइएको थियो । यसका अतिरिक्त चालु आर्थिक वर्षमा तलब भत्ता, दैनिक भ्रमण भत्ता, इन्धन खर्च, मसलन्द लगायतका ५० लाख खर्च भएको प्रतिष्ठानका लेखापाल उमेशकुमार यादवले बताए । आव ०७८/७९ मै समितिले ५४ लाख १० हजार २ सय ७४ रुपैयाँमा चारपांग्रे गाडी खरिद गरेको थियो । जुन अहिले मन्त्रालयमा छ ।

०७५ पुस १६ गतेको मन्त्रिपरिषद्ले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । ०७८ जेठ २१ गतेको मन्त्रिपरिषद्को बैठकले राजविराज नगरपालिकाले उपलब्ध गराएको वडा नम्बर १० को ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि भाडामा दिने निर्णय गरेसँगै प्रतिष्ठानको ०७८ असार २२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

प्रतिष्ठान निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ । यसको लागत कुल ११ अर्ब ९८ करोड रुपैयाँ छ ।

प्रकाशित : मंसिर १५, २०८० १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

दूधको भुक्तानी माग्दै सुरू भएको किसानको आन्दोलनपछि भएको सहमतिबारे तपाईंको धारणा के छ ?