कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

मधेस सरकारप्रति सांसदको आक्रोश - 'भ्रष्टाचार बढ्दा संघीयतामाथि खतरा'

सन्तोष सिंह

धनुषा — मधेश प्रदेशसभा बैठकमा सांसदहरुले प्रदेश सरकार भ्रष्टाचारमा लिप्त हुँदा संघीयतामाथि प्रश्न उठेको बताएका छन् । प्रदेशसभा बैठकको विशेष समयमा मंगलबार बोल्ने सांसदहरुले प्रदेश सरकारले कमिसनमुखी योजना अगाडि बढाउँदा भ्रष्टाचार मौलाएको आरोप लगाउँदै भ्रष्टाचारकै कारण संघीयतामाथि प्रश्न उठन थालेको बताएका हुन् । 

मधेस सरकारप्रति सांसदको आक्रोश - 'भ्रष्टाचार बढ्दा संघीयतामाथि खतरा'

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रदेश सांसद जयनुल राइनले सहिदहरुको बलिदानीले आएको संघीयतामाथि भ्रष्टाचारले खतरा बढाएको बताए । 'संघीयतालाई भव्य स्वागत गर्ने नागरिकहरु नै विरोध गर्नुको कारण भ्रष्टाचार हो,' सांसद राइनले भने, ‘संघीय व्यवस्था गलत होइन । व्यक्तिले गल्ती गर्दा व्यवस्थामाथि प्रश्न उठेको छ । कृषिको उर्वरभूमि मधेश बंजर हुनुको कारण भ्रष्टाचार नै हो । भ्रष्टाचार रोकिए संघीयतामाथि कुनै खतरा रहने छैन,’ उनले भने ।

सांसद युवराज भट्टराईले देशमा बगेको दूषित हावाविरुद्ध प्रदेशसभा एकमत रहेको उल्लेख गर्दै संघीयताविरुद्ध आवाज उठ्नुको कारण भ्रष्टाचार रहेको बताए । 'संघीय सरकार र काठमाडौंलाई मात्रै गाली गर्ने प्रदेश सरकारले ६ वर्षमा के–के गरे समीक्षा गर्नु आवश्यक छ,' उनले भने ।

अर्का सांसद प्रमोद यादवले प्रदेश सरकारका मन्त्रीहरु नातावाद र कृपावादमा लागेर आफन्त र पार्टी कार्यकर्ता पोस्ने बजेट ल्याउँदा संघीयतामाथि प्रश्न उठेको टिप्पणी गरे ।

सांसद अनरुद्ध सिंहले प्रदेश सरकारले सर्वसधारणलाई संघीयताको अनुभूति गराउन नसकेको बताए । 'प्रदेश सरकारले संघीयताको अनुभूति गराउन के काम गरेको छ,' सांसद सिंहले भने, ‘प्रदेश सरकारले ६ वर्षमा ठोस योजना के ल्याए ? स्थानीय तहले गर्ने सडक ढलानकै काम प्रदेश सरकारले पनि गर्‍यो । प्रदेश सरकारले स्थानीय र संघीय सरकारभन्दा फरक काम र योजना अगाडि बढाउन नसक्दा संघीयतामाथि नागरिकको गुनासो बढेको छ ।’ उनले मन्त्रीहरु र प्रदेश सांसदहरुले आत्मालोचना गरेमात्रै संघीयता बलियो हुने तर्क गरे ।

सांसद राजेन्द्र चौधरीले संघीयताबारे नकारात्मक टिप्पणी भइरहँदा प्रदेश सांसदहरु मूकदर्शक बनेको आरोप लगाए । 'मधेशमा अन्य प्रदेशभन्दा ढिलो आर्थिक कारोबार गर्न खाता खुल्ने, कम बजेट खर्च हुने, काम नहुने र कमिसन तन्त्रको बढाबा दिने योजनामात्रै सरकारले ल्याउँदा संघीयताप्रति सर्वसाधारणमा वितृष्णा बढेको छ,' चौधरीले भने ।

'खेतबाट धान घरमा आइपुग्दासम्म पनि सरकारले मूल्य निर्धारण गर्नु नसक्नु र किसानबाट धान सरकारी निकायले खरिद गर्न आनाकानी गर्नुले किसानलाई प्रदेशको अनुभूति नै हुन सकेन,' उनले भने ।

सांसद हरिणरायण महतोले प्रदेश सरकारले आसेपासे र कार्यकर्तामात्रै पोस्न खोज्दा संघीयताको जननी मधेश प्रदेशमा नै संघीयताको विरोध हुन थालेको बताए ।

सांसद रामसरोज यादवले संघीयताविरुद्ध आन्दोलन गर्नेविरुद्ध एकमत हुनु पर्ने समय आएको बताए । 'संघीयता आएपछि गाउँगाउँमा सडक, पुल, अस्पताल बनेको छ,' सांसद यादवले भने, ‘गाउँको सडक पक्की भएको छ । स्वास्थ्य, शिक्षा र सडकमा सुधार भएको छ । सानो समयमा विकास संघीयताकै कारण सम्भव भएको हो । सुन्दर संघीय प्रणालीको विरोध भए मधेशबाट फेरि विद्रोह हुनेछ ।’

सीमा सुरक्षा मधेशले गरेको उल्लेख गर्दै काठमाडौंमा बसेर संघीयता समाप्त गर्ने प्रयास भइरहेको उनले आरोप लगाए ।

प्रकाशित : मंसिर १२, २०८० १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?