पप्पु कन्स्ट्रक्सनका पूर्वसञ्चालक हरिनारायण रौनियार एमाले प्रवेश

वीरगन्ज — पप्पु कन्स्ट्रक्सनका पूर्वसञ्चालक एवम् पूर्वसांसद हरिनारायण रौनियार एमाले प्रवेश गरेका छन् । २०७४ को निर्वाचनमा रौनियार जनता समाजवादी पार्टीको टिकटबाट पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । राजनीतिमा सक्रिय भएपछि उनले पप्पु कन्स्ट्रक्सनको अध्यक्ष पद छाडेका थिए ।

पर्साको पोखरियामा मंगलबार आयोजित आमसभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई फूलमाला र टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवीलगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।
एमाले प्रवेश गरेका रौनियारले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेशका मुद्दा बिर्सिएर निजी स्वार्थमा लागेकाले आफूले जसपा परित्याग गरेको बताए । उनले एमाले अध्यक्ष ओलीबाटै देशको विकास र समृद्धि सम्भव रहेकाले पार्टी प्रवेश गरेको बताए ।
जसपाले मधेशलाई भजाउने काममात्रै गरेको उनको आरोप थियो । मधेशको नाममा पटक-पटक पार्टीको नाम परिवर्तन गरी मधेशी जनतालाई ठगेको उनले आरोप लगाएका थिए ।
