वीरगन्जका छठ घाटमा खचाखच ब्रतालु

पर्सा — तराई मधेशको आस्था र श्रद्धाको पर्व छठको ‘सझिया घाट’ को दिन आइतबार वीरगन्जस्थित छठघाटहरुमा ब्रतालुहरु खचाखच छन् । घाटहरु ब्रतालु, उनीहरुका परिवारका सदस्य र श्रद्धालुहरुको बाक्लो उपस्थितिले भरिएको छ ।

घडिअर्वा,मूर्लि,नगवा,रानीघाट,अञ्चल प्रहरी कार्यालय, स्विमिङ्ग पुल परिसर, तेजारथटोल, सिर्सिया लगायतका घाटहरुमा मध्यान्ह १२ बजेपछि नै चहल पहल बढ्न थालेको हो ।
दिन ढल्दै गएसँगै घाटहरुमा ब्रतालु र उनीहरुलाई सघाउन परिवारका सदस्यहरुको आगमन बढन थालेको छ । त्यसपछि छठी माताको दर्शन गर्न आउने श्रद्धालु तथा भक्तजनहरुको घुँइचो बढन थालेपछि छठ घाटहरु खचाखच भरिएका छन् ।
दिउसो करिब १ बजेपछि वीरगन्ज बजारका पसल तथा व्यापारिक प्रतिष्ठानहरु समेत बन्द भएपछि सिंगो सहर छठ घाटतिर लक्षित भएर पुग्न थालेको हो । यस वर्ष वीरगन्जका छट घाटहरुको साजसज्जाको प्रतिस्पर्धा नै चलेको छ । सर्वाधिक खर्च गरेर सजाइने घडिअर्वा छठ घाटभन्दा यस वर्ष मूर्लि छठ घाटको सजावट र व्यवस्थापनमा बढी खर्च गरिएको दाबी गरिएको छ ।
घडिअर्वा घाटको व्यवस्थापनमा १५ लाख ४१ हजार रुपैयाँ खर्च गरिएको छ भने मूर्लि घाटको व्यवस्थापनमा २१ लाख रुपैयाँ खर्च गरिएको व्यवस्थापन समितिले दाबी गरेको छ ।
घडिअर्वा पोखरीमा मात्रै करीब ५ हजार ब्रतालु र २ लाख सर्वसाधारणको आवागमन हुने अनुमान गरिएको छ । घडिअर्वा पोखरीलगायत प्रमुख छठ घाटहरुको सुरक्षा व्यवस्था कडा बनाइएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी घाटहरुमा परिचालन गरिएका छन् ।
ब्रतालुहरुले आइतबार साझ ‘सझियाघाट’ मा अस्ताउँदो सूर्यको उपासना गर्ने छन् । शनिबार ‘खरना’ विधि अन्तर्गत ‘रस्याउ रोटी’ अर्थात् दुध र गुँड हालेर पकाइएको खीर (रस्याउ) र रोटी/पुरी खाएका ब्रतालुहरु आइतबार दिन भरी निर्जल निराहार बसेर ब्रत लिइरहेका छन् । सोमबार बिहान उदाउँदो सूर्यको उपासनापछि प्रसाद खाएर मात्र ब्रत तोड्ने छन् ।
आइतबार साँझ ब्रतालु तथा तिनका परिवारका सम्पूर्ण सदस्यहरु आआफ्नो घरपायक पर्ने पोखरी, नदी, सरोवर आदि जलाशय निर्मित आकर्षक छठी घाटमा पुगेका छन् । नयाँनयाँ बस्त्र परिधान लगाएका ब्रतालुका परिवारका सदस्यले ब्रतालुको पूजा सामग्रीहरु तथा प्रसाद राखिएको बासको छैंटी टाउकोमा बोकेर घाटसम्म लगेका छन् ।
छठ घाटमा ब्रतालुहरुले अस्ताउँदै गरेको सूर्यलाई बाँसको सुपुलीमा नरिवल लगायतका पूजा सामग्रीहरुको अर्घ्य दिएका छन् । त्यसपछि उनीहरु घण्टौं घाटमा बसेर पूजा अर्चना गर्छन् । केही ब्रतालु रातभरी घाटमै बस्छन् भने केही घर फर्केर आँगनमा कोशी भर्ने विधि गर्छन् ।
छठ ब्रत लिए ब्रतालुहरुको मनोकांक्षा पुरा हुने धार्मिक विश्वास छ ।
प्रकाशित : मंसिर ३, २०८० १५:२९