घडिअर्वा छठ घाटको व्यवस्थापनमा मात्र १५ लाख बढी खर्च हुने

पर्सा — वीरगन्जस्थित घडिअर्वा पोखरी छठ घाटको व्यवस्थापनमा मात्र यसवर्ष १५ लाख ४१ हजार रुपैयाँ खर्च गरिदैं छ । पोखरीस्थित छठ पूजा व्यवस्थापन समितिले शुक्रबार पत्रकार सम्मेलन गरी घाटको व्यवस्थापनको बारेमा जानकारी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा समितिका सचिव लखनलाल गुप्ताले यस वर्ष समितिको अनुमानित आम्दानी २३ लाख ७६ हजार ४ सय ९५ रुपैयाँ र खर्च १५ लाख ४१ हजार ५ सय रुपैयाँ रहेको बताए । यस वर्ष ८ लाख ३४ हजार ९ सय ९५ रुपैया बचत हुने अनुमानित आयव्यय प्रतिवेदन उनले प्रस्तुत गरे ।
यस वर्ष टेन्ट पण्डाल सजावट, बत्ति साउण्डमा ७ लाख ५१ हजार रुपैया खर्च गरिने उनले बताए । गत वर्ष यो घाटको व्यवस्थापनमा १४ लाख ३५ हजार ३ सय ७५ रुपैया खर्च भएको उनले बताए ।
समितिको आम्दानी चिठ्ठा,व्यानर र विज्ञापनबाट हुने गरेको पनि उनले बताए । यस बाहेक वीरगन्ज महानगरपालिकाको कार्यालयले ५० हजार रुपैयाँ सहयोग र गत वर्षको आम्दानी मौज्दात ५ लाख १ हजार ४ सय ९५ रुपैया रहेको गुप्ताले बताए ।
पत्रकार सम्मेलनमा समितिका सुरक्षा समितिका संयोजक मुन्ना साह कलवारले घाटको सुरक्षा व्यवस्था मिलाउन यस वर्ष पनि घाटमा वन वे बाटो बनाइएको बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीका ५०/५० जवान घाटमा सुरक्षार्थ खटिने छन् । सादा पोशाकका पनि केही प्रहरी खटिने भएका छन् ।
यस बाहेक समितिका २ दर्जन बढी स्वयम् सेवक पनि सुरक्षार्थ खटिने भएका छन् । ती मध्ये आधा महिला स्वयंसेविका हुनेछन् । घाटको सबै क्षेत्रमा गरी २० वटा सीसीटीभी क्यामेरा जडान गरिएको र क्यामेराबाट पनि घाटको नियमित अनुगमन गरिने उनले बताए ।
यस वर्ष घाटमा अनुमानित ५ हजार ब्रतालु र करीब २ लाख जनाको आवागमन हुने उनले बताए । भैपरी आउने दुर्घटनालाई न्युनिकरण गर्न बारुण यन्त्र, एम्बुलेन्स, रेडक्रसको प्राथमिक उपचार कक्ष, सशस्त्र प्रहरीको गोताखोरको टोली पनि तैनाथ गरिने उनले बताए ।
प्रकाशित : मंसिर १, २०८० १७:४८