१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

मधेशमा ‘भरदुतीया’ मनाइँदै

रासस

धनुषा — मधेशमा ‘भरदुतीया’ पर्व मनाइँदै छ । भाइटीका जस्तै मधेशमा भरदुतीया मनाउने परम्परा छ । यस पर्वमा भाइटीकाभन्दा केही विधि भने फरक रहेको छ । यस पर्वलाई भाइदुज, भरदुतीया, भ्रातृद्वितीया पनि भन्ने गरिन्छ ।

मधेशमा ‘भरदुतीया’ मनाइँदै

दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा सप्तरंगी टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडालगायत उपहार दिन्छन् । यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहित सनेस) लिएर पुग्ने चलन छ ।

भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन् । आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मैथिली चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ ।

दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिएको पिर्कामा बसाउँछन् । त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन् । पानी चुहाउँदै परिक्रमा गर्छन्, जसलाई न्यौत (निमन्त्रण दिनु) भनिन्छ ।

त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार रुपैयाँ, गरगहना, लुगा सनेस (उपहार) दिने चलन छ ।

आजकै दिनदेखि छठ पर्वको आरम्भ भएको मानिन्छ ।

प्रकाशित : कार्तिक २९, २०८० १४:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?