चोरीको पोल खुल्ने डरले महिलाको हत्या, ३ जना पक्राउ

वीरगन्ज — चोरीको पोल खुल्ने डरले पर्सामा एकल महिलाको हत्या भएको खुलेको छ । पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानी टोलकी ५६ वर्षीया कान्तीदेवी वीन गत असोज २ गते दिउँसो ३ बजेतिर आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् ।

कान्ती देवीको हत्या आरोपमा तीन जनालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाका अनुसार पक्राउ पर्नेमा जगरनाथपुर-५ मसिहानी टोल निवासी ३६ वर्षीय लालबाबु राउत वीन, चन्द्रिका राउत वीन र अमीरिका राउत वीन रहेका छन् । लालबाबुलाई प्रहरीले असोज ७ मा नियन्त्रणमा लिएको थियो । उनको बयानका आधारमा प्रहरीले गत असोज १४ मा चन्द्रिका र अमीरिकालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी प्रवक्ता समेत रहेका थापाका अनुसार असोज १ गते राति करिब पौने १२ बजे कान्तिदेवीको घरमा चोरी गर्ने योजनाका साथ तीनैजना घरमा सुरुङ बनाईभित्र प्रवेश गरेका थिए । ‘कोठा भित्रको बक्साहरु खोतल्दै गरेको अवस्थामा कान्तिदेवी ब्यूँझेकी थिइन्,’ डिएपी थापाले भने, ‘चोरहरुलाई उनले चिनेपछि पोल खुल्ने डरले तीनजना मिलेर उनको हत्या गरेको अनुसन्धानमा खुलेको छ ।’
अनुसन्धान अधिकृतका अनुसार कान्तिदेवीको टाउकोमा रड र काठको फलेकले प्रहार गरी उनीहरुले बेहोस बनाएका थिए । सिरानीले मुख थुनेर खुर्पीले घाँटी रेटी हत्या गरेको लालबालु राउत वीनले बयान दिएको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानको क्रममा प्रतिवादीहरुको पोलिग्राह परीक्षणसमेत गरेको डिएसपी थापाले बताए ।
महिलाको घाँटी रेटी हत्या गरेको सूचना आउनासाथ प्रहरी उपरीक्षक कोमल शाह नेतृत्वको टोली तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेको थियो । मृतकका छोरा अर्जुन मुखिया वीन वैदेशिक रोजगारबाट फर्किएपछि असोज ७ मा लालबाबु राउतविरुद्ध किटानी जाहेरी दिएका थिए । ‘लालबाबुलाई नियन्त्रणमा लिई अनुसन्धान थालेपछि उनले हत्यामा संलग्न अन्य दुई जनाको नाम बयानमा खुलाएका थिए,’ डिएसपी थापाले भने, ‘उनको बयानपछि असोज १४ मा चन्द्रिका र अमीरिकालाई नियन्त्रणमा लिइएको हो ।’
