
रौतहट — रौतहटको गरुडा नगरपालिका–६ स्थित पोठीयाही टोलका रामप्रवेश महतोको नौ वर्षकी छोरी किरणकुमारी अहिलेसम्म फेला परेको छैन । ६ महिनादेखि बेपत्ता छोरीको खोजीमा परिवारका सदस्यहरू भौँतारिइरहेका छन् ।

गत वैशाख २० गते अपराह्न पोठीयाही प्राविमा कक्षा ३ मा पढ्ने छोरी किरण बेपत्ता भइन् । छोरी हराउने दिन बुबा रामप्रवेश कामले गरुडा बजारमा गएका थिए । त्यही बेला घरबाटै किरण बेपत्ता भएको परिवारको भनाइ छ । तर कसरी किरण बेपत्ता भइन् भन्नेबारे परिवारका सदस्यहरू अन्यौलमा छन् । ‘छोरी यतै कतै होला भनेर चुप बस्यौं, जब खाना खाने बेला छोरी नआएपछि खोज्न थाल्यौं,’ आमा तेतरी देवीले भनिन्, ‘अहिलेसम्म छोरीको अत्तोपत्तो छैन । रातभरि रोएर बितायौं, बिहान झिसमिसेमा गाउँ/घर छरछिमेकीको घरमा पुगेर हल्लीखल्ली गर्यौं, तर छोरीको अत्तोपत्तो लागेन ।’
वैशाख २१ गते महतो परिवार गरुडास्थित प्रहरीको महिला बालबालिका सेवा केन्द्रमा गएर छोरी खोजिदिन भन्दै उजुरी दिएका थिए ।
रामप्रवेशका चार छोरा छन् भने ४ वर्षकी कान्छी छोरी छिन् । उनीहरूले स्थानीय रेडियो, एफएममा छोरी हराएको सूचनासमेत दिए । तर, अहिलेसम्म कतै फेला परेको खबर आएको छैन । छोरीको अपहराण हो वा कुनै ठाउँमा गएको भन्ने अहिलेसम्म पत्ता नलागेको रामप्रवेश बताउँछन् ।
इलाका प्रहरी गरुडाले किरणको खोजतलासमा कुनै कसर बाँकी नराखेको बताउँदै आएको छ । प्रत्येक वर्ष रौतहटमा घरबाट हराउने बालबालिकाको संख्या बढ्दो छ । अभिभावकले प्रहरीमा गरेको उजुरी अनुसार १० देखि १७ वर्षका उमेर समूहका बेपत्ता हुने बालबालिकाको संख्या धेरै छ ।
जिल्ला प्रहरी कार्यालय गौरका अनुसार २०७३ साल यता ४५८ जना बालबालिका बेपत्ता भइसकेका छन् । तीमध्ये अहिलेसम्म २५१ जना फेला परिसकेका छन् भने २०७ जना अझै बेपत्ता छन् ।
