भन्सार छलेर ल्याएका ८० लाख रुपैयाँ बराबरका कपडा बरामद

राजविराज — सिरहा जिल्लामा दैनिकरुपमा अवैध कपडा बरामद हुन थालेको छ । चाडपर्वका बेला सिरहाको नाका भएर भन्सार छली नेपाल भित्र्याइएको कपडाहरु राजस्व अनुसन्धान कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीले पछिल्लो समय दैनिक नियन्त्रणमा लिन थालेको हो ।
सशस्त्र प्रहरीले सिरहा नगरपालिका-१८ स्थित तारापटीबाट ८० लाख रुपैयाँ बराबरको लत्ताकपडा मंगलबार नियन्त्रणमा लिएको छ । भारतबाट अवैधरुपमा नेपाल भित्र्याई लुकाइछिपाई राखिएको सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल गण नम्बर ७ सिरहा र बोर्डर आउटपोष्ट लगडिगदियाको टोलीले ८० लाख रुपैयाँ बराबरको ७८ पोका कपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
स्थानीयवासीका तीनवटा गाई गोठमा लुकाइराखिएको अवस्थामा सो कपडा नियन्त्रणमा लिइएको छ । बरामद कपडा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा पठाइएको छ ।
गत आइतबारमात्र सशस्त्र प्रहरी बलको सहयोगमा राजस्व अनुसन्धानको टोलीले सिरहाको माडर नजिकैबाट करोड रुपैयाँ बराबरको कपडा बरामद गरेको थियो । ट्रकमा लोड गरी काठमाडौं लैजाँदै गरेको अवस्थामा कपडा नियन्त्रणमा लिइएको थियो ।
यस्तै शनिबार बिहान पनि सिरहाको माडरस्थित एक विद्यालय परिसरको आँपबगैंचाबाट ५० लाख रुपैयाँ बराबरको कपडा नियन्त्रणमा लिइएको थियो ।
