अनधिकृत रुपमा भण्डारण गरिएको ९३ बोरा केराउ बरामद

पर्सा — प्रहरीले वीरगन्जस्थित एक गल्ला स्टोरबाट अनधिकृत रुपमा भण्डारण गरिएको केराउ बरामद गरेको छ ।

सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा सोमबार साँझ ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–१६ स्थित रेल्वे सडक खण्डमा ४६ वर्षीय अजय साहले सञ्चालन गरेको जय माँ गल्ला किराना स्टोरमा अनधिकृत रूपमा भण्डारण गरी राखिएको केराउ बरामद गरेको हो ।
प्रहरीका अनुसार २५ किलोको दरले ९३ बोरामा गरी २ हजार ३ सय २५ किलो केराउ बरामद भएको छ । बरामद केराउको मूल्य २ लाख ७९ हजार रुपैयाँ रहेको छ । बरामद केराउ थप अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।
