

पर्सा — वीरगन्जमा डेंगी संक्रमण बढ्दै जाँदा जोखिम क्षेत्र पहिचान गरी लामखुट्टे र त्यसका लार्भा नष्ट गर्न अभियान चलाइएको छ । साउनको अन्तिम सातादेखि मंगलबारसम्म ५ साताको अवधिमा डेंगी संक्रमण भएर ४३ बिरामी उपचारार्थ नगरका विभिन्न अस्पतालमा आएको वीरगन्ज महानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ ।


महाशाखा प्रमुख अनिलकुमार यादवका अनुसार साउनमा २, भदौमा ३८ र असोजमा ३ गरी बिरामी अस्पताल आएका हुन् । ४ नारायणी, ११ तराई, ६ एडभान्स, २ वीरगन्ज हेल्थ केयर, ७ नेशनल मेडिकल कलेज, ४ नारायणी सेन्ट्रल, १/१ श्रीराम र भवानी अस्पताल आएको रेकर्ड छ । यसबाहेक चिकित्सक डा. निरज सिंहको क्लिनिकमा ९ र डा. अतीन्द्र मिश्रको क्लिनिकमा डेंगीका एक जना बिरामी सम्पर्कमा आएका छन् ।
वीरगन्ज-२ छपकैया‚ वडा १० को रानीघाट र रेल्वे रोड लगायतका क्षेत्रमा डेंगीका बिरामी बढी देखिएका छन् । महानगरमा डेंगी संक्रमित बिरामी बढेसँगै लामखुट्टेको लार्भा नष्ट गर्ने ‘सर्ट एण्ड डिस्ट्रोय’ अभियानलाई उच्च प्राथमिकतामा राखिएको यादव बताउँछन् ।
यस क्रममा महानगरस्थित विभिन्न अस्पतालमै अभियान चलाउँदा कतिपयका हातामा टायर र विभिन्न सामानमा लामखुट्टेको लार्भा फेला पारेर नष्ट गरिएको छ ।
‘अभियानको क्रममा बयोधा, वीरगन्ज हेल्थ केयर, गण्डक, स्पर्श लगायतका अस्पताल परिसरमै राखेका टायरहरुमा समेत लामखुट्टेको लार्भा फेला पारेर नष्ट गरिएको छ,’ उनले भने, ‘मंगलबार नै भवानी अस्पतालमा टिनको खाली भाँडामा लामखुट्टेको लार्भा फेला परेकोमा नष्ट गरिएको छ ।’
अभियानको क्रममा हालसम्म ५ सय ६३ वटा टायरबाट लामखुट्टेको नार्भा नष्ट गरी सकिएको उनले बताए । वर्षायाममा टायरको उचित व्यवस्थापन नहुँदा त्यसमा जम्मा हुने पानीमा हुर्किने लामखुट्टेबाट डेंगी संक्रमण फैलिने जोखिम रहेको यादव बताउँछन् ।
यसबाहेक गमला र एयर कन्डिसनरमा जमेको पानीमा पनि डेंगीको लार्भा हुर्कने गरेकाले महानगरबासीले यसतर्फ पनि सावधानी अपनाउन आवश्यक रहेको उनले बताए । डेंगी संक्रमणविरुद्ध सचेतना फैलाउन महानगरपालिकाको कार्यालयले पर्चा, पम्पलेट वितरणको काम पनि गरिरहेको छ ।
प्रकाशित : आश्विन २, २०८० १९:३०