रौतहट — रौतहटको गरुडा नगरपालिका–४ स्थित बजारमा सोमबार बिहान गाडीमा हावा भर्ने ट्यांकी पड्किँदा दुई जना घाइते भएका छन् । घाइते दुवैको अवस्था गम्भीर देखिए पछि थप उपचारको लागि वीरगन्ज रिफर गरिएको छ ।
गरुडास्थित समनपुर जाने बाटोको बजारमा रहेको धर्मेन्द्र मोटरसाइकल वर्कसपमा मोटरसाइकल मर्मत गरिरहेका स्थानीय धर्मेन्द्र साह र वीधिकुमार साह घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ । अचानक सबारीमा हावा भर्ने ट्यांकी पड्केपछि फलामको समानले लागेर दुवै घाइते भएका हुन् । वीधिकुमार वर्कसप छेउमा बसीरहेका थिए । उनलाई पनि फलामले लागेको छ । धर्मेन्द्रको दाहिने हातमा धेरै चोट लागेको प्रहरीले जनायो ।
दुवैको हात र शरीरमा गम्भीर चोट लागेको छ । दुवै जनालाई स्थानीय अस्पतालमा उपचारपछि वीरगन्ज पठाएको प्रहरीले जनायो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । ट्यांकी विस्फोटपछि वर्कसप वरपर मानिसको ठूलो भीड लागेको छ । सधैंजसो व्यस्त हुने गरुडा बजारमा बिहान हावा भर्ने ट्यांकी पड्किएको हो ।
प्रकाशित : आश्विन १, २०८० ११:३५