कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१५ बालकैदीबन्दी ५ दिनदेखि हिरासतमै

जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका कक्षको हिरासतमा राखिएका उनीहरूको व्यवस्थापनबारे निर्णय हुन सकेन
शंकर आचार्य

पर्सा — वीरगन्ज–४ बिर्तास्थित बाल सुधारगृहमा मंगलबार राति भएको झडपपछि नियन्त्रणमा लिइएका १५ जना बालकैदीबन्दीलाई अझैसम्म जिल्ला प्रहरी कार्यालयमै राखिएको छ । व्यवस्थापनबारे निर्णय हुन नसक्दा उनीहरूलाई प्रहरीको महिला तथा बालबालिका कक्षको हिरासतमा राखिएको हो ।

१५ बालकैदीबन्दी ५ दिनदेखि हिरासतमै

पर्सा प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले हिरासतमा रहेका बालकैदीबन्दीबारे हालसम्म केन्द्रबाट कुनै निर्णय भइनसकेको बताए । ‘कारागार व्यवस्थापन विभाग वा अन्य सरोकारवाला निकायले यसबारे निर्णय गर्ने हो,’ उनले भने, ‘हामीले त निर्णय कार्यान्वयन गर्ने मात्रै हो ।’

सुधारगृहमा बस्ने उनीहरूलाई हिरासतमा बस्दा समस्या हुने गरेको डीएसपी थापा बताउँछन् । ‘सुधारगृहको फराकिलो दायरामा बस्दाजस्तो सहज प्रहरी हिरासतमा हुँदैन,’ उनले भने, ‘हामीले पनि गृहको परिस्थितिलाई सहज बनाउन यसो गरेका हौं, केन्द्रबाट कुनै निर्णय र आदेश आएलगत्तै कार्यान्वयन गर्नेछौं ।’ बाल सुधारगृह वीरगन्जका प्रमुख टीकाकृष्ण काफ्लेले जिल्ला प्रशासनमार्फत कारागार व्यवस्थापन विभागलाई पत्राचार गरी भक्तपुरबाट ल्याइएका १५ बालकैदीलाई अन्यत्र व्यवस्थापन गर्न माग गरेको बताए । ‘बाल सुधारगृहबाट जिल्ला प्रशासनमार्फत विभागमा पत्राचार भइसकेको छ,’ उनले भने, ‘विभागले कुनै निर्णय लिइसकेको छैन, हामी निर्णयको प्रतीक्षामा छौं ।’

सुधारगृहमा झडपका क्रममा भत्किएको गृहको ग्रिल, ढोका, झ्याल आदिको मर्मतसम्भारसँगै बिजुली र पानी व्यवस्थापनको काम द्रुतगतिमा भइरहेको उनले बताए । भदौ ८ मा भक्तपुर बालगृहबाट ल्याइएका र पहिलेदेखि बस्दै आएकाको समूहबीच मंगलबार राति झडप भएको थियो । भक्तपुरबाट सरुवा भएर आएकै दिनदेखि उनीहरूले आफूलाई अविलम्ब फिर्ता पठाउनुपर्ने माग राखेर विद्रोह गर्ने धम्की दिएका थिए । उनीहरूले सुधारगृहका दुई जना कमान्डरलाई कुटपिट गरेपछि मंगलबार राति दुई समूहबीच झडप भएको थियो । झडपपछि प्रदर्शनमा उत्रिएका बालगृहका कैदीबन्दी र स्थानीय प्रशासनबीच बुधबार साँझ वार्ता भएपछि बालगृहको माहोल शान्त बन्दै गएको हो ।

बालमनोविद् सावित्री भण्डारी बालकैदीको हकमा उनीहरूको उमेर महत्त्वपूर्ण हुने बताउँछिन् । ‘सबै बालिग भइसकेका छन् वा केही नाबालक छन्, त्यो हेर्नुपर्छ,’ उनले भनिन्, ‘उनीहरूकै सुरक्षाका लागि प्रहरी हिरासतमा राखिएको हो भने उचित नै हो तर हिरासतमा उनीहरूसँग मानवीय व्यवहार हुनुपर्छ ।’ प्रहरीले उनीहरूसँग सकारात्मक व्यवहार गर्ने, आवश्यक काउन्सिलिङ गर्ने, उनीहरूको उग्रता र तनाव कम गराउने खालको गतिविधि गर्नुपर्ने उनको भनाइ छ । ‘उनीहरूलाई गृहमा फिर्ता पठाइए वा अन्यत्र सरुवा गरी लगे त्यहाँ फेरि उदण्डता देखाउँछन् भने हिरासतमा लामो समय राखेको अर्थ पनि हुँदैन,’ उनले भनिन् ।

प्रकाशित : भाद्र ३१, २०८० २२:२७
प्रतिक्रिया
पठाउनुहोस्