विद्यार्थी कुटपिट प्रकरणमा कार्यालय सहयोगी पक्राउ


लहान — विद्यालयमा एक विद्यार्थीमाथि भएको कुटपिटको घटनामा प्रहरी कारबाही सुरु भएको छ । सिरहा जिल्लाको सिरहा नगरपालिका-१२ को सारस्वरनाथ माध्यमिक विद्यालयका एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा कार्यालय सहयोगी पक्राउ परेका हुन् ।


आरोपित कार्यालय सहयोगी जयनारायण मण्डललाई आइतबार नियन्त्रणमा लिइएको सिरहाका एसपी टेकनन्द इवा लिम्बुले बताए । उनका अनुसार मण्डललाई अदालतबाट म्याद लिई घटनाको अनुसन्धान सुरु गरिएको छ ।
कक्षा ९ मा अध्ययनरत १६ वर्षीय मो. समिर राइनलाई कार्यालय सहयोगी मण्डलसहित प्रधानाध्यापक, लेखापालले मंगलबार कोठामा थुनेर निर्घात कुटपिट गरेको आरोप छ । कक्षामा पढिरहेका राइनलाई कार्यालय सहयोगीले बोलाएर स्टाफ कोठामा लगेका थिए । त्यसपछि कोठा बन्द गरी प्रधानाध्यापक जयचन्द्र यादव, लेखापाल जितेन्द्र यादव र कार्यालय सहयोगी मण्डलले निर्घात कुटपिट गरेको विद्यार्थी समिरले बताएका छन् ।
एसपी लिम्बुका अनुसार पीडित विद्यार्थीका बाबुले जाहेरी दिएका थिए । घटनाका अन्य आरोपीको खोजी भइरहेको उनले बताए । ‘जाहेरी आएको छ, कार्यालय सहयोगीलाई नियन्त्रणमा लिइसकेका छौं । अन्य आरोपीको नाममा पक्राउ पुर्जी जारी गर्ने प्रक्रिया अघि बढाएर खोजी तीव्र पारेका छौ,’ एसपी लिम्बुले भने ।
कुटपिटबाट घाइते समिर प्रादेशिक अस्पतालमा उपचारपछि अहिले घरमा आराम गरिरहेका छन् ।
घाइते विद्यार्थी समिरका बुवा मोहमद अकबर मियाँका अनुसार कुटाईबाट समिरको जीउमा निलडाम र चोट छ ।
यो पनि
प्रकाशित : भाद्र ३१, २०८० १७:२३