कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

जल्दै गरेको शव प्रहरी नियन्त्रणमा

कुटपिटबाट मृत्यु भएको घटनामा कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन सहयोग गर्ने ६ जना मलामीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
ओमप्रकाश ठाकुर

सर्लाही — सर्लाहीको हरिपुरमा जल्दै गरेको चिताबाट प्रहरीले एक महिलाको शव नियन्त्रणमा लिएको छ । शवको केही भाग जलिसकेको अवस्थामा प्रहरीले हरिपुर नगरपालिका–६ लक्ष्मीपुरका राजाराम साहकी श्रीमति इन्द्रकला देवीको शव नियन्त्रणमा लिएको हो । 

कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन थालेको भन्दै प्रहरीले शव नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

५० वर्षीय श्रीमान राजारामकै कुटपिटबाट इन्द्रकलाको मृत्यु भएको प्रहरीको आशंका छ । श्रीमतिलाई मरणासन्न हुनेगरी कुटपिटपछि राजाराम फरार भएकाले पनि प्रहरीले घटनाबारे अनुसन्धान गरेको जनाएको छ । हाल राजारामको खोजी भइरहेको प्रहरी उपरीक्षक सुवेदीले बताए ।

गत सोमबार घरायसी झगडामा श्रीमान राजारामले आफ्नै श्रीमति इन्द्रकलालाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते भएकी इन्द्रकलालाई छोरीले उपचारका लागि नवलपुरस्थित एक निजी अस्पतालमा लगे पनि उनको अवस्था देखेर चिकित्सकले वीरगन्ज रेफर गरेका थिए । मंगलबार वीरगन्जबाट फिर्ता ल्याई घरमा राखेपछि बुधबार अवस्था झन खराब भएपछि छोरीले नै जनकपुर अस्पतलामा पुर्‍याएकी थिइन् । शनिबार बिहान भने इन्द्रकलाको मृत्यु भएको हो ।

इन्द्रकलाको मृत्युपछि कसैलाई खबर नै नगरी स्थानीयहरूले लखन्देही खोलामा दाहसंस्कार गर्न थालेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय हरिपुरले जल्दै गरेको शव नियन्त्रणमा लिइ अनुसन्धान गर्न थालेको हो । कुटपिटबाट मृत्यु भएको घटनामा कानुनी प्रक्रिया पूरा नगरी शव जलाउन सहयोग गर्ने ६ जना मलामीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । घटना भएकै दिनदेखि मृतकका श्रीमान राजाराम फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २७, २०८० १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?