ल्याइयो एमआरआई चलाउने हिलियम ग्यास


पर्सा — हिलियम ग्यासको अभावमा ३० करोड रुपैयाँ लागतको एमआरआई मेसिन नारायणी अस्पताल वीरगन्जको परिसरमा थन्किएपछि ठेकेदार कम्पनीले ग्यास अस्पतालमा ल्याएको छ । ठेकेदारले बुधबार ग्यास अस्पतालमा ल्याएको अस्पतालका सूचना अधिकृत एवं प्रवक्ता डा उदयनारायण सिंहले जानकारी दिएका छन् ।


सिंहले बिहीबार विज्ञप्ति जारी गर्दै आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिले हिलियम ग्यास अस्पतालमा ल्याइसकेको जानकारी दिएका छन् । विज्ञप्तिमा अस्पतालमा सेवा प्रवाहका लागि खरिद भई जडानको प्रक्रियामा रहेको ३ टेस्ला एमआरआई मेसिन फागुनको दोस्रो साता अस्पतालमा आपूर्ति भएको र आपूर्तिकर्ता तथा प्राविधिकको सिफारिसअनुसार सो मेसिन जडानका लागि भवन पूर्वाधारसमेत निर्माण भइसकेको छ ।
मेसिनमा ‘परमानेन्ट म्याग्नेट’ प्रयोग हुने र उक्त ‘म्याग्नेट’ निरन्तर चिस्याई राख्नका लागि हिलियम ग्यास आवश्यक पर्ने र निरन्तर विद्युत् आपूर्तिको व्यवस्था गर्नुपर्नेमा पूर्वाधार निर्माण, निरन्तर विद्युत् आपूर्ति तथा मेसिन सञ्चालन गर्ने जनशक्ति व्यवस्था गरिसकिएको अस्पतालले जनाएको छ ।
मेसिनमा रहने परमानेन्ट म्याग्नेटको कारण अस्पतालमा रहने अन्य मेसिन बिग्रन नदिनका साथै उक्त मेसिन रहने क्षेत्रभित्र विशेष प्रकारको म्याग्नेटिक सेल्डिङ, अकोस्किट सेल्डिङ र रेडियो फ्रिक्वेन्शी सेल्डिङलगायतका आन्तरिक निर्माण कार्य आपूर्तिकर्ताको तर्फबाट भए पनि आपूर्तिकर्ताको अनुसार विश्वव्यापीरुपमा हिलियम ग्यासको अभावको कारण ढिलो अस्पतालमा उक्त ग्यास आपूर्ति गरिएको र जडानको कामसमेत सुरु गरिसकिएको अस्पतालले जनाएको छ । असार १५ गतेसम्म उक्त मेसिन जडान भई सञ्चालन गर्ने जनशक्तिलाई आवश्यक तालिम दिई हस्तान्तरण गर्ने आपूर्तिकर्ताले प्रतिबद्धता जनाएको छ ।
करिब अढाई महिनादेखि अस्पताल परिसरमा खुल्ला आकाशमुनि उक्त महँगो उपकरण थन्किएपछि अस्पताल प्रशासन र ठेकेदारको आलोचना भइरहेको थियो । स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालिमार्फत यो उपकरण खरिद गरेको हो । ठेकेदार कम्पनीले मेसिन ल्याएर अस्पताल परिसरमै थन्क्याएर राखेको छ । हिलियम ग्यासको अभावको कारण देखाउँदै ठेकेदारले तयार भइसकेको एमआरआई कक्षमा मेसिन जडानसमेत गरेको थिएन ।
महँगो र कोमल मानिने यो मेसिन अस्पताल परिसरमा यसरी राखिँदा क्षति वा यसका पार्टपुर्जा चोरी हुनसक्ने जोखिम छ । अस्पतालमा भएको यो बेथितिको समाचार कान्तिपुरमा प्रकाशित भएपछि हिलियम ग्यास दुई दिनमै व्यवस्था भएको र ठेकेदारले ग्याससहितको एमआरआई मेसिन जडान कार्यसमेत सुरु गरेको छ । अस्पतालमा लामो समयदेखि यो मेसिनको आवश्यकता महसुस गरिँदै आएको थियो । एमआरआई मेसिनले मानव शरीरको सुक्ष्म भागको एक्स-रे गरेर रोगको पहिचान गर्ने हुँदा सेवाग्राहीले नारायणी अस्पतालबाटै भरपर्दो उपचार सेवा पाउने छन् ।
प्रकाशित : जेष्ठ २५, २०८० २०:५१