तस्करीको मल नियन्त्रणमा लिन खोज्दा सर्लाहीमा गाउँले र प्रहरीबीच झडप


सर्लाही — सर्लाहीको धनकौलमा भारतबाट तस्करी गरी लुकाएर राखिएको मल नियन्त्रणमा लिन खोज्दा बिहीबार गाउँले र प्रहरीबीच झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।


धनकौल गाउँपालिका ७ बैरिया टोलस्थित राजु सहनीको घरमा भारतबाट तस्करी गरी ल्याइएको मल नियन्त्रणमा लिन खोज्दा गाउँलेबाट अवरोध भएपछि झडप भएको हो । घरमा लुकाएको युरिया मल नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि गाउँलेले ढुंगामुढा गर्न थालेपछि प्रहरीले आश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार तीन सेल अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिइएको हो ।
भारतबाट तस्करी गरी ल्याइएको मल घरमा लुकाइराखेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुमित कुशवाहा नेतृत्वको टोली परिचालन गरिएको थियो । तर‚ गाउँलेले ढुंगामुढा गर्न थालेपछि प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार नेतृत्वको टोली थप मद्दतका लागि त्यहाँ पुगेको थियो । प्रहरीले सहनीको घरमा लुकाएर राखेको ७२ बोरा मल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । थप केही बोरा मल गाउँलेले समेत खोसेर लगेको बताइएको छ ।
गाउँलेको ढुंगा प्रहारबाट प्रहरी निरीक्षक कुशवाहासहित एक वरिष्ठ हवल्दार समान्य घाइते भएका छन् । अवैध मल भण्डारण गरेर राख्ने घरधनी सहनी भने फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित : जेष्ठ २५, २०८० १९:००