ट्याक्टरमा ट्यांकी जोडेर 'कामचलाउ दमकल'

शिव पुरी

रौतहट — पछिल्लो समय तराई मधेसका जिल्लाहरुमा आगलगीका घटना बढिरहँदा समयमै दमकल पुग्न नसकेर क्षति हुने क्रम बढेको छ ।

ट्याक्टरमा ट्यांकी जोडेर 'कामचलाउ दमकल'

यसअघि चन्द्रपुर नगरपालिकामा मात्रै दमकल हुँदा अन्य छिमेकी पालिकामा पनि आगो निभाउनु परेको थियो । तीन साताअघि भने गौरको दमकल दुर्घटनामा परेपछि हाल गौरको दमकलकै भरमा आगो निभाउन सम्भव नहुने भएको छ ।

यसैबीच गौर नगरपालिकाले भने ट्र्याक्टरको टेलरमा पानीको ट्यांकी राखेर अस्थायी दमकल बनाएको छ । गौरले 'कामचलाउ' दमकल बनाएपछि आसपासका पालिकामा पनि चर्चा हुने गरेको छ ।

गौर नगरपालिकाले हाल आफ्नै ना १ द २३४ नम्बरको ट्रयाक्टरलाई टेलरमा ट्यांकी राखेर दमकलको रुपमा प्रयोग गर्न थालेको हो । नगरप्रमुख शम्भु साहका अनुसार नगरक्षेत्रमा कतै आगजनी भयो भने सोही ट्र्याक्टरको सहायताले आगो निभाउने गरिएको छ ।

‘दमकल नहुँदा नगरक्षेत्रमा आगलगीको घटना हुँदा निकै ठूलो समस्या हुन्छ,' उनले भने, ‘ट्र्याक्टरलाई दमकल बनाएर भए पनि काम चलाएका छौं । दुर्घटना भएको दमकल मर्मत गर्न अझै केही समय लाग्छ ।’

ट्र्याक्टरको स्वरुप परिवर्तन गरेर बनाइएको दमकलले भने बाटोमा धुलो उड्यो भने पानी हाल्ने समेत काम गर्छ । गौर नगरपालिका– ४ स्थित गढवा गाउँमा लागेको आगो निभाउन पुगेको नगरपालिकाको ना १ ग ७८८ नम्बरको दमकल गढवामा दुर्घटना हुँदा चालक करिम अनाअरीसहित पाँच जना घाइते भएका थिए ।

सबगढा र गढवाको बीचमा रहेको कुखुरा फार्ममा लागेको आगो निभाउन गएको नगरपालिकाको दमकल ब्रेक फेल भएर दुर्घटना भएको थियो । जिल्लाका १८ वटा स्थानीय तह मध्ये गौर र चन्द्रपुर नगरपालिकामा मात्रै दमकल थियो । गौरको दमकल दुर्घटना भएपछि भने हाल चन्द्रपुरमा मात्रै दमकल छ ।

प्रकाशित : जेष्ठ २३, २०८० १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?