कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

गाँजा तस्करीमा नाबालकको प्रयोग

शंकर आचार्य

पर्सा — पर्सामा लागूऔषध गाँजाको ओसारपसारमा १४ वर्षीय नाबालकको प्रयोग गरिएको घटना सार्वजनिक भएको छ । घटनाक्रमअनुसार, जिराभवानी गाउँपालिका १ सडक खण्डमा आइतबार साँझ ४ बजे प्रहरी चौकी महादेवपट्टिबाट खटिएको नियमित जाँच गर्ने टोलीले शंकास्पद रुपमा आएको बा प्र ०३–००५ प ४४२९ नम्बरको मोटरसाइकलमा सवार १४ वर्षीय बालकलाई रोकी जाँच गर्दा उनले पिठ्युँमा पछाडि भिरेको झोलाभित्र लुकाएर राखेको ५ किलो गाँजा फेला परेको थियो ।

गाँजा तस्करीमा नाबालकको प्रयोग

प्रहरी टोलीले रोकेपछि बालक मोटरसाइकल रोकेर भाग्न खोज्दा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

बालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई उनीविरुद्ध लागूऔषध कसुरमा जिल्ला अदालतबाट सोमबार ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक गिरीले जानकारी दिए ।

डीएसपी गिरीले पक्राउ परेका बालक स्थानीय नै रहेको र उनको बयान अझै लिई नसकिएकाले बालक र उनलाई यो काममा प्रयोग गरेका व्यक्ति वा गिरोहबारे थप जानकारी खुल्न नसकेको बताए । ‘सोमबार अदालतबाट म्याद थपेर ल्याइएको छ, बयान लिन बाँकी छ,’ उनले भने, ‘बयान लिइसकेपछि मात्र विस्तृत जानकारी आउनेछ ।’

बालकलाई बाल इजलासमा पेस गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइने उनले बताए । ‘अन्य वयस्कको मुद्दा ९० दिनभित्र अदालतमा पेस गर्नुपर्नेमा नाबालकको मुद्दा २१ दिनभित्र अदालतमा पेस गरिसक्नुपर्छ,’ उनले भने, ‘त्यसअनुरूप नै हामी बयान तथा अनुसन्धानलगायतका कामकारबाही अघि बढाउनेछौं ।’

यसरी लागूऔषधको ढुवानीमा १४ वर्षीय बालकको प्रयोग गरिएको घटनाले आफूहरू पनि चकित भएको उनले बताए । ‘लागूऔषध तस्कर समूहले नाबालकको प्रयोग गरेको घटनाले हामी पनि चकित छौं,’ उनले भने, ‘पछिल्लो केही समययता नाबालक नाबालिकाहरूलाई प्रयोग गरेर लागूऔषध तस्करी गर्ने घटनाहरू फाट्टफुट्ट देखिन थालेका छन्, त्यससँगै प्रहरी सक्रियता पनि बढाएका छौं ।’

सामाजिक अभियन्ता प्रकाश थारु गाँजा तस्करीमा नाबालकको प्रयोग हुनु चिन्ताको विषय रहेको बताउँछन् । ‘यो हाम्रा लागि चिन्ताको विषय हो,’ उनले भने, ‘गाँजाको खेती र यसको कारोबार विगतमा आर्थिक विषयमात्र नभई अपराधको जडको रुपमा पनि रहेको थियो । समयमै सतर्कता नअपनाइए भविष्यमा फेरि यसको खेती र तस्करी बढ्ने मात्र नभई योसँग जोडिएका आपराधिक घटना पनि बढ्ने प्रबल सम्भावना छ ।’

प्रकाशित : जेष्ठ २३, २०८० १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?