कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नयाँ ऐन अनुसार नागरिकता नबन्ने भएपछि वीरगन्जका युवा प्रदर्शनमा

शंकर आचार्य

पर्सा — सर्वोच्च अदालतको अल्पकालीन आदेशपछि जन्मसिद्धको आधारमा नागरिकता बन्ने बाटो बन्द भएपछि नागरिकता पाउनबाट बञ्चित वीरगन्जका युवाहरुले प्रदर्शन गरेका छन् । उनीहरुले सोमबार बिहान वीरगन्जमा नाराबाजी र जुलुस गरेका हुन् ।

नयाँ ऐन अनुसार नागरिकता नबन्ने भएपछि वीरगन्जका युवा प्रदर्शनमा

सर्वोच्च अदालतले राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यान्वयन नगर्न आइतबार अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेका हुन् ।

नागरिकताविहीन नागरिक संघर्ष समिति पर्साले गरेको विरोध प्रर्दशनमा विभिन्न नारासहितका प्लेकार्ड बोकेका युवाहरुले नागरिकता विधेयकको विरोध गरी रहेका दल तथा तिनका नेताहरुको विरुद्ध बिहान १० देखि ११ बजेसम्म १ घन्टा घन्टाघर चोकमा चर्को नाराबाजी गरेका थिए । उनीहरुले एमाले, रास्वपा र राप्रपाको नाम लिएर नाराबाजी गरेका थिए । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी ओली, रास्वपा अध्यक्ष रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनविरुद्ध पनि उनीहरुले नाराबाजी गरेका थिए ।

युवाहरुले प्रदर्शनको क्रममा ऐन कानुन लागू गर, नागरिकता दिन सुरु गर, आमा बुबा नेपाली हामी चाहिँ के हो, हाम्रो जीवनसँग खेलबाड नगर जस्ता नारा लगाएका थिए । उनीहरुले बिहान १० देखि ११ बजेसम्म यसरी विरोध प्रर्दशन गरेका थिए । त्यसपछि घन्टाघरदेखि माईस्थान चोकसम्म नाराबाजीसहित जुलुस प्रदर्शन समेत गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय पर्साले सोमबारदेखि जन्मसिद्धको आधारमा नागरिकता बनाउने पूर्व सूचना जारी गरेको थियो । जस अनुसार, आइतबार महानगरपालिकाका वडा कार्यालयहरुमा जन्मदर्ता तथा नाता प्रमाणित बनाउनेहरुको बाक्लो भीड लागेको थियो । आइतबार साँझ अचानक सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाउने अल्पकालीन आदेश जारी गरेपछि नागरिकता बनाउने प्रक्रिया थालेका युवाहरु आक्रोशित भएका हुन् ।

प्रकाशित : जेष्ठ २२, २०८० १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?