३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

३० करोडको एमआरआई मेसिन अढाई महिनादेखि खुला आकाशमुनि

शंकर आचार्य

पर्सा — ३० करोड रुपैयाँको एमआरआई मेसिन वीरगन्जको नारायणी अस्पताल परिसरको खुला आकाशमुनि साढे २ महिनादेखि थन्किएको छ । अस्पतालमा एमआरआई कक्ष तयार भए पनि प्रशासनको लापर्बाहीका कारण महँगो उपकरण अस्पताल परिसरमै त्रिपालले छोपेर राखिएको छ ।

३० करोडको एमआरआई मेसिन अढाई महिनादेखि खुला आकाशमुनि

स्वास्थ्य सेवा विभागले टेण्डर आह्वान गरी आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालि मार्फत यो उपकरण खरिद गरेको हो । तर ठेकेदार कम्पनीले हिलियम ग्यासको अभावका कारण मेसिन जडान गर्न नसकेको जनाएपछि मेसिन अस्पताल परिसरमै प्रयोगविहीन बनेको छ ।

महँगो र अति नाजुक मानिने यो मेसिन अस्पताल परिसरमा यसरी राखिँदा क्षति वा पार्टपुर्जा चोरी हुनसक्ने सम्भावना पनि उत्तिक्कै रहेको स्थानीय ओमप्रकाश सर्राफ बताउँछन् । साथै सेवाग्राहीका लागि अति उपयोगी हुनसक्ने मेसिनलाई अस्पताल परिसरमै त्रिपालले छोपेर राख्दा असुरक्षित हुने भन्दै स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन् ।

‘एकातिर अस्पतालमा एमआरआई कक्ष तयार छ, अर्कोतिर आइसकेको मेसिन अढाई महिनादेखि कक्षमा जडान नगरी खुला आकाशमुनि राखिएको छ,’ सर्राफले भने, ‘यो कस्तो बिडम्बना हो, कक्ष तयार छ भने त्यसमा मेसिन जडान गरेर कम्तीमा मेसिनलाई सुरक्षित राख्नुपर्‍यो ।’

अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंह ठेकेदार कम्पनीले हिलियम ग्यासको अभावका कारण मेसिन जडान गर्न नसकेको जवाफ दिँदै आएको बताउँछन् । ‘एमआरआाई मेसिन सञ्चालन गर्न हिलियम ग्यासको आवश्यकता पर्ने रहेछ, यो ग्यासको हाल विश्वव्यापी अभाव रहेको छ,’ उनले भने, ‘अस्पताल प्रशासनले अस्पतालमा एमआरआई कक्ष तयार गरिसकेको छ, त्यहाँ एमआरआई उपकरण सहजै जडान गर्न सकिन्छ, तर ठेकेदारले नै ग्यासको अभाव देखाएर मेसिन जडान गर्न नचाहेपछि हामी के नै गर्न सक्छौं ।’

उनले अस्पतालमा एमआर आई कक्ष तयार हुनुका साथै यो उपकरण सञ्चालन गर्न अस्पतालसँग जनशक्ति समेत उपलब्ध रहेको बताए । ‘हामीसँग तत्काल नेपाल सरकारको मापदण्ड अनुसारको मेसिन चलाउने जनशक्ति उपलब्ध छ,’ उनले भने, ‘थप एक जना रेडियोलोजिस्ट जनशक्ति थपिएको खण्डमा सहजतापूर्वक यो मेसिन सञ्चालन गर्न सकिन्छ ।’

मेसिन सञ्चालनमा आएमा एमआरआई मेसिनले मानव शरीरको सुक्ष्म भागहरुको एक्स रे गरेर रोग पहिचान गर्ने हुँदा सेवाग्राहीले नारायणी अस्पतालबाटै भरपर्दो र सस्तो उपचार सेवा पाउने डा. सिंह दाबी गर्छन् । नारायणी अस्पताल पर्सादेखि सर्लाहीसम्मका तथा सीमावर्ती भारतीय गाउँका बिरामीहरुको समेत उपचार गन्तव्य रहँदै आएको छ ।

प्रकाशित : जेष्ठ २१, २०८० १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?