राजविराजमा मोटरसाइकलको ठक्करले महिलाको मृत्यु


राजविराज — मोटरसाइकलको ठक्करले घाइते भएकी एक महिलाको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका १२ की ३५ वर्षीया बबिता मण्डल रहेको प्रहरीले जनाएको छ ।


शम्भुनाथ नगरपालिका १२ अर्नाहा चौकमा बोदेवरसाइनबाट राजविराजतर्फ आउँदै गरेको स १० प ४३०४ नम्बरको मोटरसाइकलले पैदलयात्रु बबितालाई आइतबार दिउँसो ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते बबितालाई उपचारका लागि विराटनगर लगिएकोमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक बोदेवरसाइन नगरपालिका ५ भाटिनका मोहम्मद अख्तर फरार रहेकोले खोजी कार्य भइरहेको तथा उनका बुबा मोहम्मद जालम र मोटरसाइकल नियन्त्रणमा लिए अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
