१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

राजविराज नगरपालिका : दैनिक ज्यालादारीमा ऐनविपरीत कर्मचारी भर्ना

अख्तियारले थाल्यो छानबिन
अवधेशकुमार झा

राजविराज — राजविराज नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनविपरीत दैनिक ज्यालादारीमा अधिकृत छैठौं तहमा नियुक्ति गरेको खुलेको छ । राजविराज–१ का इन्जिनियर मो. फिरोज अलीलाई गत वैशाख १५ गतेदेखि अधिकृत छैठौं तहमा दैनिक ज्यालादारीमा नियुक्ति दिएको हो । बिनाप्रतिस्पर्धा तोक आदेशकै भरमा ऐनविपरीत उक्त नियुक्ति दिइएको हो । 

राजविराज नगरपालिका : दैनिक ज्यालादारीमा ऐनविपरीत कर्मचारी भर्ना

राजविराज नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनविपरीत दैनिक ज्यालादारीमा अधिकृत छैठौं तहमा नियुक्ति गरेको खुलेको छ । राजविराज–१ का इन्जिनियर मो. फिरोज अलीलाई बिनाप्रतिस्पर्धा तोक आदेशकै भरमा ऐनविपरीत गत वैशाख १५ गतेदेखि अधिकृत छैठौं तहमा दैनिक ज्यालादारीमा नियुक्ति दिइएको हो ।

प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोसीले कन्टेनजेन्सी कोषबाट तलब पाउने गरी अधिकृत छैठौं तहमा नियुक्ति दिएको र उक्त नियुक्ति कार्यवाहक नगरप्रमुख ईसरत परविणको दबाबमा दिइएको नगरपालिका स्रोतले जानकारी दियो ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार अधिकृत छैठौं तहमा दैनिक ज्यालादारीमा नियुक्ति गर्न पाउँदैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई आधार बनाएर दैनिक ज्यालादारीमा आफूखुसी नियुक्ति नगर्न सबै पालिकाहरूलाई २०७५ साल माघ ९ गते नै पत्राचार गरिसकेको छ ।

स्थानीय तहले नगरप्रहरी, सवारी चालक, कार्यालय सहयोगी, इलेक्ट्रिसियन, प्लम्बर, चौकिदार, माली, बगैंचे र सरसफाइ कर्मचारीसम्बन्धी पदबाहेक अन्य पदमा करारबाट पदपूर्ति गर्न नमिल्ने कानुनी व्यवस्थाविपरीत राजविराज नगरपालिकाले अधिकृत छैठौं तहमा दैनिक ज्यालादारीमा नियुक्ति गरेको हो ।

कार्यविधिविपरीत मासिक डोर हाजिरी, ज्यालादारी वा स्वीकृत दरबन्दी बाहिर अन्य रुपमा कर्मचारी राखी तलब भत्ता वा पारिश्रमिक भुक्तानी गर्न नमिल्ने, गरिए प्रचलित कानुनविपरीत भई बेरुजु कायम हुने र बेरुजु भएको उक्त रकम भुक्तानी गर्ने पदाधिकारीबाट असुल उपर हुने व्यहोराको परिपत्र मन्त्रालयले जारी गर्दा पनि त्यसलाई अटेर गरेर राजविराज नगरपालिकाले आफूखुसी आदेशकै भरमा विभिन्न पदमा दैनिक ज्यालादारी नियुक्त गरेको हो ।

अधिकृत छैठौं तहमा नियुक्ति दिएका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशी भने राजधानीमा रहेको भन्दै सम्पर्कमा आउन चाहेनन् ।

राजविराज नगरपालिकामा बिनाप्रतिस्पर्धा तोक आदेशकै भरमा कर्मचारी नियुक्तिको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । अख्तियारको इटहरीस्थित कार्यालयका प्रवक्ता निरज देवले राजविराज नगरपालिकामा कर्मचारी नियुक्तिको विषयमा छानबिन भइरहेको पुष्टि गरे । कर्मचारी नियुक्तिबारे कागजातहरू मगाएर अख्तियारले छानबिन थालेको हो ।

प्रकाशित : जेष्ठ १५, २०८० १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?