कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

किर्ते आरोपमा गरुडा नगरपालिकाका कर्मचारी पक्राउ

शिव पुरी

रौतहट — किर्ते गरेको आरोपमा रौतहटको गरुडा नगरपालिकामा करारमा कार्यरत एक कर्मचारी पक्राउ परेका छन् । नगरपालिकाको पञ्जीकरण फाँटमा कार्यरत रामनारायण सहनीलाई किर्ते हस्ताक्षर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनको पक्राउ बारेको जानकारी प्रहरीले सार्वजनिक गरेको छैन । पीडित परिवारले शनिबार पत्रकारहरुसित श्रीमान्‌को पक्राउबारे सार्वजनिक गर्न माग गरेका छन् ।

किर्ते आरोपमा गरुडा नगरपालिकाका कर्मचारी पक्राउ

गरुडा–२ गेडही घर भएका सहनीले लिएको ५ लाख पेस्कीको रकम फछर्यौट गर्न प्रमुख प्रशासकीय अधिकृत भूदेव झाको नक्कली हस्ताक्षर गरेको आरोपमा इलाका प्रहरी गरुडाले पक्राउ गरेको हो । उनलाई प्रहरीले जेठ ८ गते नियन्त्रणमा लिएको थियो । तर अहिलेसम्म सार्वजनिक गरेको छैन ।

पेस्की रकमको फछर्यौटको गोश्वरा भौचरमा उनले नक्कली हस्ताक्षर गरेको प्रमुख प्रशासकीय अधिकृत झाले बताए । ‘उनलाई छानबिनका लागि प्रहरीले पक्राउ गरेको छ,' उनले भने, ‘अनुसन्धानबाट किर्ते गरे नगरेको भन्ने खुल्छ ।’ पक्राउ परेका सनहीका परिवारले नगरप्रमुख कन्थमणि जैसवाल र प्रमुख झाले किर्ते हस्ताक्षर गरेको भनेर फसाएको आरोप लगाएका छन् ।

सहनीका श्रीमती लालवती देवीले नगरपालिकाबाट लिइएको भनिएको पेस्की रकम आफूहरुले सदुपयोग नगरेको दाबी गरे । ‘हामीले उक्त रकम खर्च गरेका छैनौं,' उनले भनिन्, ‘यसमा यथार्थ छानबिन हुनु पर्छ । वास्तविक बाहिर आउँछ ।’

उक्त पेस्की फछर्यौट गर्न पटक पटक ताकेता गर्दा प्रमुख झाले नमानेको उनको आरोप छ । आफ्नो श्रीमान्‌ले कुनै कागजमा नक्कली हस्ताक्षर नगरेको सहनी परिवारको दाबी छ । नगरप्रमुख जैसवालले प्रमुखको हस्ताक्षर किर्ते गरेको खुलेपछि प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान थालेको बताए ।

प्रकाशित : जेष्ठ १३, २०८० १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?