धुलाम्मे सडकछेउमा खुलेआम मासु व्यापार

स्थानीय तहको अनुमगन छैन । जनप्रतिनिधिको आग्रह टेर्दैनन् व्यापारी ।
शिव पुरी

रौतहट — रौतहका विभिन्न पालिकाहरुमा लाग्ने हाटबजारमा सडकछेउमै जथाभावी रुपमा मासु बिक्री हुने गरेको पाइएको छ । उत्तरको चन्द्रपुरदेखि दक्षिणतर्फ यमुनामानई लगायतका अधिकांश पालिकाहरुमा लाग्ने हाटबजारमा ब्यापारीले खुलेआम सडकमै दुर्गन्ध आउने गरी मासु बेच्ने गरेका हुन् ।

सरोकारवालाहरूको गुनासो बढेपछि नगरप्रमुख संजय काफ्लेले केही साताअघि चन्द्रपुर नगरपालिकाभित्र व्यापार व्यवसाय गर्ने व्यापारीहरुलाई सफा र स्वच्छ मासु बेच्न सामाजिक संजाल मार्फत निर्देशन दिँदै फेरि यस्तै दोहोरिए कानुनी प्रक्रियामा अघि बढाइने चेतावनी दिएका थिए ।

त्यसको भोलिपल्ट काफ्ले आफैं इलाका प्रशासन, पशु शाखाका प्रतिनिधि, उपभोक्ता हित संरक्षण मंच, उद्योग वाणिज्य संघ लगायतका सरोकारवालासहितको टोली लिएर अनुगमनमा निस्किए । जहाँ फाहोर, धुलो उड्ने खुला ठाउँमै डोरीले झुण्डाएर मासु राखेको अवस्थामा उनले फेला पारे ।

‘एउटा पनि मासु पसलहरु स्वास्थ्य मापदण्ड अनुसार छैन । उनीहरुले जथाभावी बाहिर खुला स्थानमा राखेर फोहोर मासु बेचिरहेका छन्,' उनले भने, ‘एक साताभित्र सुधार गरेर बिक्री गरेको पाइएन भने अब कारबाही गर्न पछि हट्दैनौं ।’

तर काफ्लेले यसो भनेको कैयौं दिन बितिसक्दा पनि व्यवसायीले धुलाम्मे खुला सडकछेउमै मासु बेच्ने क्रम रोकिएको छैन । अधिकांश व्यापारीले बाहिर, धुलो उड्ने, खुला स्थानमा, झिंगा भन्किएकै अवस्थामा मासु बेच्ने गर्छन् । हाट बजारमा पनि उनीहरूले धुलाम्मे भुइँमै मासु राखेर बिक्री गर्दै आएका छन् ।

मासु व्यवसायीहरुले नगरपालिकाको निर्देशनका बावजुद यसरी मापदण्ड विपरीत व्यवसाय गरी मानव स्वास्थ्यसँग खेलवाड गरिरहेको भन्दै उपभोक्ता अधिकारकर्मी तथा स्थानीय अगुवाहरूले भने आपत्ति जनाउँदै आएका छन् । उपभोक्ता अधिकारकर्मी तथा स्थानीय अगुवाहरूले अनुगमनको अभावमा यस्तो हुने गरेको भन्दै आपत्ति जनाउने गरेका छन् ।

अनुगमन टोली आउँदा सुधार गर्ने प्रतिबद्धता देखाए पनि टोली गएपछि व्यापारीले अटेरी गर्दै आएको उपभोक्ता हित संरक्षण मंच रौतहटका अध्यक्ष टिका घिमिरेले बताए । जिल्लाभरका मासु पसलहरुमा अनुगमनको क्रममा त्रुटि भेटिए पनि संचालकहरुलाई कुनै कारबाही नभएकाले उनीहरूको मनोवल बढेको घिमिरेको भनाइ छ ।

अनुगमनका क्रममा पसल व्यवस्थित नभएको, मूल्य सूची नराखिएको, सरसफाइमा ख्याल ध्यान नदिएको भेटिन्छन् । टोलीले मासु लगायत खाद्यान्न पसललाई व्यवस्थित गरेर सरसफाइमा विशेष ध्यान दिन सुझाव दिए पनि उनीहरुले पालना गर्ने गरेका छैनन् । यस्तै कतिपय व्यापारीले फ्रेस हाउस भनेर संचालन गरेका मासु पसल सम्बन्धित निकायमा दर्ता नै छैनन् ।

मासु बिक्री गर्ने स्थानमा जालीले घेरेको हुनुपर्ने, फ्रिज राख्नुपर्ने, मासुमा पानी मिसाउन नपाइने, बासी मासु बेच्न नपाइने लगायत मापदण्ड सरकारले तोकेको छ । तर अधिकांश मासु पसलेहरूले पूर्ण रुपमा मापदण्ड पालना गरेको नपाएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् । जिल्लाभर ५ सयको हाराहारीमा सडक र बजारमा जथाभावी मासु बिक्री गर्ने व्यवसायी रहेका छन् ।

प्रकाशित : जेष्ठ १२, २०८० १९:१२
प्रतिक्रिया
पठाउनुहोस्

सिटिजन्स बैंकले जर्मनको केएफडब्लूबाट ल्यायो ५६ करोड पुनर्कर्जा

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटिजन्स बैंकले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि जर्मनस्थित केएफडब्लू डेभलपमेन्ट बैंकबाट ३५ लाख युरो पुनर्कर्जा र ५ लाख यूरो प्राविधिक सहयोग (करिब ५६ करोड रुपैयाँ) ल्याएको छ ।

सिटिजन्स बैंक, राष्ट्र बैंक र केएफडब्लूबीच ग्रामीण भेगमा दीगो आर्थिक विकास (सेड्रा– तेस्रो चरण) अन्तर्गत सहयोग सम्झौता भएको हो । नेपालसँग जर्मन वित्तीय सहयोग परियोजनाअर्न्तगत केएफडब्लूले नेपाल राष्ट्र बैंकसँगको समझदारीमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्थांलाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रवर्द्धनका लागि पुनर्कर्जा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले उक्त शीर्षक अन्तर्गत हालसम्म २१ हजार ५ सय २६ व्यवसायलाई २५ अर्ब रुपैयाँ बराबरको कर्जा प्रदान गरेको छ । जसमध्ये २ हजार ८८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत व्याजदरमा २ अर्ब बराबरको कर्जा प्रदान गरेको बैंकले जनाएको छ । यस कर्जाको मद्दतले नेपालमा महिलालाई उद्यमशील बनाई महिला सशक्तिकरणमा टेवा पुर्‍याउने बैंकको भनाइ छ ।


प्रकाशित : जेष्ठ १२, २०८० १९:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×